-यस्तो छ ‘हैट!’ को कथाः सडकदेखि पर्दासम्म..हेर्नुहोस् ... (भिडियो सहित )...
Posted by News NP on | 0 comments
नेपाली सिने जगतमा धेरै कलाकार उदाउँदा र अस्ताउँदा छन् । नाटक र टेलिश्रृङ्खलालाई आधार बनाउँदै फिल्म क्षेत्रमा गहिरो जग गाडेका कलाकार हुन्, ‘हैट’ उर्फ ‘बुद्धि तामाङ’ । हिट चलचित्र ‘कबड्डी’ त्यसैको सिक्वेल ‘कबड्डी कबड्डी’मा दर्शकले रुचाएका पात्र हुन् बुद्धि । मङगोलियन फेस, छोटो कद, भएका बुद्धिको वास्तविक स्वरुप पनि उस्तै छ । केही दिन अघि मण्डला ‘थिएटर’मा भेट्दा पनि चलचित्रमा देखिने हुलियामा थिए । सामान्य चप्पल, उस्तै पोशाक र आँखामा चस्मा । झट्ट हेर्दा फिल्मको सुटिङ जस्तो । तर, उनको वास्तविक जीवन पनि फिल्मको पात्र जस्तै रहेछ ।
काभ्रेपलान्चोकका स्थायीवासी बुद्धि २०६३ देखि कलाकारितामा सक्रीय छन् । बुद्धि गाउँबाट एसएलसीसम्मको औपचारिक शिक्षा लिएर काठमाडौँ कामको खोजीमा आएका थिए । उनले काठमाडौँमा बदाम व्यापारीदेखि इटा बनाउने सम्मका काम गरेका थिए । काठमाडौँमा कामसँगै भविष्य खोज्दै अगाडि बढेका बुद्धि नाटक, टेलिश्रृङ्खला हुँदै फिल्ममा एकाएक हिट भएका हुन् । सधैँ टेलिश्रृङ्खला र फिल्ममा हँसाउन खप्पिस बुद्धिको वास्तविक जीवन कस्तो छ त ? नयाँ पेजका लागि विद्वान कुलुङले गरेको भलाकुसारीः
पहिलो पटक जुत्ता लगाउँदा तीन फन्को नाचेँ
सामान्य परिवारमा जन्मेको हुँ । हाम्रो परिवार सात जनाको थियो । परिवारको एक्लो छोरा हुँ । त्यो समयमा राम्रो लुगा र जुत्ता चप्पल लगाउन पाइँदैन थियो । मैले सानो छँदा गोल्डस्टार जुत्ता लगाएको थिएँ । पहिलो पटक जुत्ता लगाउँदा तीन फन्को नाचेको थिएँ । अझै राम्रो याद छ । त्यो जुत्ता ३ वर्ष लगाएँ । त्यो बेलामा थोरै मानिसहरुले मात्र जुत्ता लगाउँथे । प्रत्येकको खुट्टामा चप्पल र गोजीमा लाइटर हुन्थ्यो । गोजीमा लाइटर चाहिँ चप्पल चुट्टिँदा टाँस्नको लागि बोक्थ्यौँ ।
घरमा मासु पाक्दा फुरुङ्ग हुन्थेँ
कहिलेकाहीँ घरमा मीठोमसिनो पाक्दा खुब खुसी भइन्थ्यो । गाउँमा मीठोमसिनो के नै हुन्थ्यो र ? पाकिहाल्दा मासु नै हो । चुल्होमा मासु पाक्दा धेरै नाचिन्थ्यो । केटाकेटीको उमेर, आहा, भन्दै फुरुङ्ग हुन्थेँ । घरको एक्लो छोरा हुँ, त्यसैले पनि पुलपुलिएको थिएँ । सबैले धेरै माया गर्नुहुन्थ्यो । घरमा हाम्रो दुःख पनि थियो । आमा बिरामी हुनुहुन्थ्यो । बिरामी आमा देखेर ज्यादै पीडा हुन्थ्यो । स्कुलबाट फर्कन्थेँ । आमा ओछ्यानमा आइयाआथा भन्दै छटपटाइरहनु हुन्थ्यो । म पनि आमाको पीडासँगै रुन्थेँ ।
भाँडा माझ्नेदेखि बदाम बेच्नेसम्म काम गरेँ
काभ्रेपलान्चोकबाट पैसा कमाउन आएको मान्छे हुँ । आज कलाकारिता क्षेत्रमा लागेर दर्शकको माया र साथले ठूलो पर्दामा छु । सानो हुँदा गाँउमा धेरै नाटकमा अभिनय गरेँ । ९ कक्षामा आएर मैले नाटक ‘निर्देशन’ पनि गरेको थिएँ । एसएलसी परीक्षा दिएर काठमाडौँ पैसा कामाउनको लागि आएँ । तर, काम भेटिनँ । त्यस पछि अफिसमा नै काम गर्नु पर्छ भन्ने मान्यता हटाएँ । अगाडि जे आयो त्यहीँ भाटाङ—भुटुङ गर्न थालेँ । पहिले इँटा बनाएँ । बदाम बेचेँ, पत्रपत्रिका बेचेँ । होटलमा भाँडा माझेँ र त्यहीँ ‘म्यानेजर’ पनि भएँ ।
‘म्यानेजर’ हुँदा लाग्थ्यो मानौ मैले संसार जितेँ । एक दिन ‘प्रभात लामाले’ भन्नुभयो नाटक गर्छौ ? मलाई ‘के खोज्छस् …… आँखो भने झैँ’ भयो । शङ्खनारायण दाइले ‘डबली थिएटर’ सम्म पुर्याउनु भयो । त्यहाँबाट मेरो जीवनले कलाकारिता क्षेत्रमा प्रवेश गर्यो । कम्तिमा ७ वर्षसम्म त्यहाँ काम गरेँ । त्यस पछाडि मेरो नाम र अनुहार पर्दामा जोडिँदै आयो । कलाकारितामा मेरो नाम ‘रजिष्टर’ हुन मैले धेरै संघर्षको गर्नु पर्यो । अभिनय मैले सडक नाटकबाट शुरु गरेको हुँ ।
कलाकारिता क्षेत्रमा लाग्नु भन्दा पहिला दश वर्ष अगाडि नाटक गरेको थिएँ । त्यो नाटकले महिलाहरुको अधिकार संविधानमा सुनिश्चित होस् भन्ने सन्देश बोकेको थियो । ६ वटा जिल्लामा गर्नुपर्ने थियो । त्योभन्दा अगाडि गाउँमा ६—७ कक्षामा पढ्दा पनि मइनटोल बालेर नाटक गर्ने गरेका थियौँ । ९ कक्षामा आएर त निर्देशन नै हानियो । त्यो जमानामा रमाइलो र हौसलाले नाटक गरियो । कलाकार नै बन्छु भन्ने लागेको थिएन ।
Buddhi tamana_Hait_hanumant
बेवारिसे जस्तै काठमाडौँमा बसेँ
पहिलो पटक म काठमाडौँ होइन दोलाघाट गएको थिएँ । गाडी र ठूला—ठूला घर देख्दा छक्क परेको थिएँ । काठमाडौँ आउँदा बाक्लो घर र गाडीको भिड देख्दा सपना जस्तै लागेको थियो । ५—६ वर्ष धेरै दुःखले बाचेँ । कहीले काहीँ दिदीसँग, कहिले आफन्त त कहिले साथीसँग बसेँ । बेवारिसे जस्तै भएँ । त्यो समयमा म बदाम व्यापारीदेखि इँटा बनाउने काम समेत गरेँ । काठमाडौँ आए पछि थुप्रो काम गरेँ, तर स्थायी काम कुनै थिएन । पहिले इँटा बनाएँ ।
त्यो ठेक्का जस्तै थियो ६ महिनामा एकपटक मात्र पैसा हात पथ्र्यो । बल्ल तल्ल ९० हजार हुन्थ्यो । घरको आर्थिक स्थिति कमजोर थियो सबै घरमा पठाउँथेँ । अर्को ६ महिना काम गर्थेँ ‘स्टक’ राख्थेँ । जति गर्न सके त्यती नै पैसा हुन्थ्यो । सानो थिएँ बलले भ्याउँदैन थियो । बदाम बेचेँ । पत्रिका बेचेँ । त्यस पछि होटलमा काम गरियो । म्यानेजर पनि भएँ । अहिले फिल्म खेल्छु, सम्झन्छु सबै पैसाको लागि नै रहेछ ।
विगतको भोगाइ फिल्ममा उतार्ने प्रयास गर्दै छु
होटलको भाँडा माझ्ने, बदाम बेच्ने, पत्रिका बटुल्ने, र अहिले फिल्मको पर्दामा देखिने बुद्धि उही नै हो । केही फरक छैन । पहिले सडकको पेटीमा व्यापारी, अहिले फिल्मको पर्दामा हसाउँछु । समय परिवर्तनशील छ । त्यसैले मलाई पनि यहाँसम्म ल्यायो । अहिले ठूलो पर्दामा देखिन्छु । खुसी लाग्छ । मैले भोगेका ती दिनहरुलाई फिल्ममा उतार्ने प्रयास गर्दैछु । पहिलेको त्यो भोगाइले अहिले बाटो बनाइदिएको छ जस्तो लाग्छ । सम्झन्छु खुसी लाग्छ । क्या राम्रो जीवन बिताएछु । एक्लो थिएँ । साथ नभएको हैन तर, फलानो भन्दै डोहोर्याउने कोही थिएन ।
धेरै समय लर्खरिएर हिडेँ
२०५६ सालमा एसएलसी सकेको थिएँ । त्यो समयमा एसएलसीको मान्यता थियो । तर, मैले कुनै जागिर पाइँन । केही अफिस चाहारेँ । हात लागि शून्य भयो । काठमाडौँमा ‘पावर’ हुनेले मात्र जागिर पाउँदो रहेछ । आफनो मान्छे नहुनु ‘अब्सट्रयाकल’ हुँदो रहेछ । जागिर लगाइदिन्छु भन्ने पनि थिए । तर, जागिर भने लगाइदिन सकेनन् । धेरै सोच्थेँ अनि दिन भरि लर्खरिएर हिँड्थेँ । रत्नपार्कमा गएर मज्जाले दिनमा ३—४ घण्टा बसेर सोच्थेँ । मान्छे आउँथे । हेर्थे । के गर्ने होला भनेर सोच्थेँ । तर जति सोचे पनि निश्कर्ष भने शून्य । त्यसपछि जे काम अगाडि आयो त्यही गरेँ ।
झनक्क रिस उठ्यो भने बल गरेर हाँस्छु
सबैलाई एउटै नजरले हेर्ने कुरो भएन हेर्न पनि सकिँदैन । जो मान्छेसँग अलि घुलमिल भइन्छ त्यो व्यक्तिलाई छुट्टै दृष्टिले हेरिन्छ । सबैको बानी व्योहोरा उस्तै हुँदैन । मेरो बानी छिटो विश्वास गर्ने छ । त्यसले गर्दा सबैसँग छिटो घुलमिल हुन सक्दिनँ । पहिले नै सचेत हुन्छु । मेरो कमजोर पाटो पनि यही जस्तो लाग्छ । छिटो विश्वास गर्ने र झनक्क रिसाउने । रिसाउन पहिलेको तुलनामा अहिले ‘कन्ट्रोल’ भएको छ । रिस उठे साइड लाग्छु, बल गरेर भए पनि हाँस्छु ।
२ बर्ष जति भयो रिस ‘कन्ट्रोल’ गरेको । कुनै कुरालाई भावुक भएर लिएको पनि छैन । खुसी हुन ठूलो कुरा नै चाहिन्न । सानोसानो कुराले नै दुःखी र भावुक बनाउँछ । अफ्ठ्यारा कुरा पनि आएन । सायद धेरै समस्या झेलेको हुनाले त्यस्तो महसुस भएन । आजसम्म कुनै कुरामा पछुताएको छैन । किन भने जे हुन्छ राम्रोको लागि हुन्छ, भन्छु । आजसम्म म जहाँजहाँ हिँडे, त्यहाँ सफल नै भए जस्तो लाग्छ । सायद समयसँग सम्झौता भएकाले नै पछुतो छैन ।
ठूलो हुन खोज्ने मान्छेको नजिक पर्न मन लाग्दैन
अरुलाई हेप्नेसँग धेरै घृणा लाग्छ । तल्लो ‘लेभल’बाट आएकोले होला त्यस्तो पात्र मन पर्दैन । आजसम्म अरुलाई हेपेर बोले जस्तो लाग्दैन । त्यसो भएको हुनाले पनि ठूलो हुन खोज्ने मान्छेको छायाँ पनि हेर्न मन लाग्दैन । मण्डलामा सिक्दै गरेको रङ्गमञ्चका भाइहरु छन् । उनीहरुले केही समस्या लिएर आए भने, सक्ने सहयोग गर्छु । अरुले सिक्ने इच्छा देखायो भने मैले जानेका कुनै बाँकी राख्दिनँ । पहिले मैले भोगेको पीडा सम्झेर पनि उनीहरुको पीडामा मलम लगाउने काम गरिदिन्छु ।
आफनो फिल्म हेर्दा लाज लाग्छ
सानो हुँदा फिल्म हेर्दा बहुत रुन्थेँ । चिनो फिल्म हेर्दा धेरै रोएको थिएँ । अझै झलझली याद आउँछ । आजभोलि फिल्म हेर्न भ्याउँदिन । मेरै फिल्म कबड्डी दोहोर्याएर हेरेको छु । धेरै दर्शकले रुचाउनु भयो । कस्तो बनेछ भनेर हेरेको लाज लाग्यो । मै हुँ त ? जस्तो लाग्यो । मैले गरेको प्रत्येक ‘सिन’मा चित्त बुझ्दैन । यो भन्दा धेरै गर्न सक्छु जस्तो लाग्छ । दर्शकले माया गरिदिनु भयो फिल्म राम्रो नै चल्यो तर मैले गरेको अभिनयबाट म भने सन्तुष्ट छैन ।
buddhi tamang hait
सानो कुराले धेरै समय खाइदिन्छ
मेरो जीवनमा आजसम्म त्यस्तो व्यक्ति छैन मैले आदर्श मान्नु पर्ने । तर, कामको आधारमा राजन सरसँग प्रभावित भएको छु । त्यती अरुको सहयोग लिनु पर्छ भन्ने खाल्को मान्छे होइन । मेरा स्वभाव पनि आफूले भनेको कुरा पाउनु पर्छ भन्ने स्वभावको छु । कहिले काहीँ सानो कुराले पनि खुसी र दुःखी भइदिन्छु । यस्ता कुराहरुले धेरै समय लिदिन्छ । जीवन उपहार हो । जसरी चाहे त्यसरी नै ज्युन सकिन्छ । त्यो बेला नै मैले समयलाई बुझेको भए अहिले म जहाँ छु त्योभन्दा एक ‘स्टेप’ माथि हुन्थेँ कि जस्तो लाग्छ । विगतमा धेरै दुःख र सुख भोगियो अब एक चित्त भएर यसै क्षेत्रमा लाग्छु ।
नाटक खेलेरै बाँच्न सकिन्न
फिल्म, टेलिश्रृङ्खला र नाटकमा तीनै पक्षमा रमाइलो लाग्छ । तर, ती मध्ये अलि रमाइलो नाटकमा नै लाग्छ । पहिलेबाट नै गर्दै अएकाले त्यसमा धेरै रस भिजेको छ । अरुमा भन्दा त्यसमा धेरै अनुभव भएकाले रमाइलो लाग्छ । नाटकमा पैसा त छैन । होस पनि कसरी ? कहाँबाट आउँछ ? फिल्म र टेलिश्रृङ्खलामा सबैले देख्छन् र पात्र जमेपछि ‘स्टेज’ कार्यक्रमका लागि निम्तो आउँछ र त्यहाँबाट केही रकम भए पनि आउँछ भन्नु । नाटक त नेपथ्य भित्र नै हुन्छ नि होइन र ? नाटक खेलेर बाँच्न गाह्रो छ । तर, बाँच्नु पर्छ भन्ने उद्देश्यले मण्डला थिएटरको स्थापना गरेका हौँ । रङ्गकर्मीहरु व्यावसायिक रुपमा बाँच्न सक्नु पर्छ भनेर सडक नाटक देखाउनका लागि एउटा गाडी खरिद गरेको छौँ । मण्डलाले कलकारिता क्षेत्रमा भविष्य खोज्नेका लागि अवसर पनि प्रदान गरेको छ ।
बिहे गर्न तम्सिँदा पनि लगन जुरेन
‘लव’ नगरेको होइन, गरियो । तर, अहिले एक्लो छु । दुईवर्ष सम्म ‘अफेयर’ चल्यो । बिना कारण नै छुटियो । परिस्थितिले कहाँ लगेर ठोक्कायो । आफ्नै समस्याले कताकता बङग्यायो । तर, अझै याद बाँकी छ । धेरै भयो टाढिएको । भेटे पनि चिन्छु जस्तो लाग्दैन । उसले नै चिने पनि लाग्छ, कोखमा बच्चा र साथमा श्रीमानसँगको देख्छु होला । दाजु बहिनीको साइनो हुनेछ । बाजा बजाएर कलाकारिता क्षेत्र बाहिरको विवाह गर्छु भनेर कस्सिएको, तम्सिएको २—३ वर्ष भयो, लगन जुरेन । ‘मन टु मन कनेक्सन’ भए पछि मान्छे कस्तो छ भन्ने थाहा पाइन्छ । त्यो मसँग छैन । मेरो मनको ‘एन्टिना’ले सायद मलाई सुहाउँदो केटी भेटेको छैन कि ?… जस्तो भए पनि हुन्छ । मलाई मेरै जातको चाहिन्छ भन्ने छैन । अहिलेसम्म मेरो नजरमा कुनै केटी परेको छैन । मैले भनेको जस्तो केटी, मनमा पाप नभएको र मानवता भएको भेटे विवाह गर्छु ।


You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -यस्तो छ ‘हैट!’ को कथाः सडकदेखि पर्दासम्म..हेर्नुहोस् ... (भिडियो सहित )... "
Leave a reply