नेपालका १० शक्तिशाली पुरुषहरु को को हुन्..? थाहा पाई राखौ

Posted by News NP on | 0 comments


- संयोग बस्नेत

शक्तिशाली पुरुषहरुको कुरा गर्दा अमेरिकी राष्ट्रपति बारक ओवामा, रुसका राष्ट्रपति भ्लादिमिर पुटीन, चिनिँया राष्ट्रपति सि जिङ पिङ लगायतको नाम आउँछ । उनीहरुले चाहेमा वा गरेमा दुनियाँको गति बदलिन सक्छ । नेपालमा पनि शक्तिशाली पुरुषहरु छन् । कोही सत्ता र राजनीतिका हिसाबले शक्तिशाली छन् त कोही पदीय जिम्मेवारी र अधिकारका हिसाबले शक्तिशाली छन् । नयाँ पेजले पनि नेपालका १० शक्तिशाली पुरुषहरुको सूची तयार पारेको छ । यी पुरुषहरुले आफैँले गरेको संघर्षबाट शक्ति आर्जन गरेका हन् । नेपाली समाज यस्तो अवस्थामा छ, जहाँ राजनीति हाबी र प्रभावी छ । यस कारण यहाँ पनि १० शक्तिशाली पुरुषको सूचीमा राजनीतिसँग सम्बन्धित पुरुषहरु बढी नै परेका छन् । हेर्नुहोस् नेपालका १० शक्तिशाली पुरुष :
Nepal Top 10 Mail Leaders
१. केपी शर्मा ओली
PM-KP-oli-Smiling
किन भने,
केपी शर्मा ओली नेपालका प्रधानमन्त्री र दोश्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष हुन् । ओलीले मुलुुकको सत्ताको बागडोर सम्हालेका छन् । गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका ओली असोज ३ गते संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीका विरुद्ध खरोरुपमा प्रस्तुत भए । नाकाबन्दीका बेला उनले नेपालको राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा दह्रो अडान लिए । ओली विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । ओलीले प्रमुख प्रतिपक्षी र सत्ता साझेदार दलहरुसँग तालमेल गर्न सक्दा नेपाललाई कता लैजाने भन्ने कुराको निर्णय गर्ने अधिकार छ ।
२००८ सालमा तेह्रथुममा जन्मिएका ओली २०२६ सालदेखि नेपालको राजनीतिमा सक्रिय छन् । पञ्चायती व्यवस्थाका विरुद्धको संर्घषमा ओलीले २०२८ देखि ०४४सम्मकाे अवधीमा १४ बर्ष जेल जिवन विताएका छन् । ओली २०५१–०५२ सम्म गृह मन्त्री, ०६४–०६५ मा उपप्रधानमन्त्री समेत भएका थिए । २०७१ सालमा नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका अहिले नेकपा एमालेको संसदीय दलको नेता समेत छन् ।
एमालेको अध्यक्ष र प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले एमाले भित्र आफ्नो पकडलाई कमजोर हुन दिएका छैनन् । एमालेको कार्यकर्ता उत्पादन गर्ने कारखानाको रुपमा लिइने अनेरास्ववियूको भर्खरै सम्पन्न महाधिवेशनको परिणामलाई हेर्दा उनको पार्टी भित्र आफ्नो पकट अलिकती पनि कम हुन दिएका छैनन् भन्ने कुरा पुष्टि हुन्छ । ओलीको निर्णयले मूलुक संचालन हुने गर्छ । त्यसकारण उनी सवैभन्दा शक्तिशाली पुरुष हुन् ।
२. शेरबहादुर देउवा
sher-bahadur-deuba-08-1457411828
किनभने,
शेरबहादुर देउवा अहिले मूलुकको ठूलो दल नेपाली कांग्रेसका सभापति तथा मूलुक तीन पटक हाँकीसकेका पूर्व प्रधानमन्त्री समेत हुन् । देउवालाई कांग्रेसभित्र सुविधाजनक बहुमत छ । फागुन २० देखि २४ सम्म भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका देउवा कांग्रेसको संसदीय दलमा पनि बहुमत छ । उनले सभापति र संसदीय दलको नेताको निर्वाचनमा कांग्रेस भित्र वैचारिक नेताको छवि बनाएका रामचन्द्र पौडेललाई १ महिनामा २ पटक हराए । देउवालाई कांग्रेस केन्द्रीय समिति र संसदीय दलमा सुविधाजनक बहुमत छ । कांग्रेस प्रजातान्त्रीक पार्टी भएपनि सभापतिको निर्णयले चल्ने दल हो । यसै पनि केन्द्रीय समिति र संसदीय दलमा बहुमत रहेका हुनाले उनलाई कांग्रेस भित्र जस्तौसुकै निर्णय गर्न सक्छन् । देउवाले अबको ५ बर्ष कांग्रेसलाई हाँक्ने छन् । मूलुकका सवैखाले परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको र अहिलेको ठूलो दलको सभापतिका हिसावले देउवाको निर्णयले मूलुकको राजनीतिक रंग बदलिन सक्छ ।
देउवा २००४ सालमा डडेल्धुरामा जन्मिएका हुन् । विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजिवन बिताएका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि संघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुदै आएका छन् । ४५ वर्षको उमेरमा गृहमन्त्री बनेपछि प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन उनलाई ५ वर्ष पनि कुर्नुपरेन । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक मुलुकको प्रधानमन्त्री जिम्मेवारी सम्हालिसकेका छन् ।
देउवाले अन्य दलरुसँग तालमेल मिलाउन सक्दा मूलुकको सरकार तत्कालै परिवर्तन समेत हुुन सक्छ । सवैसँग समान सम्बन्ध राख्न सक्ने भनेर चिनिएका देउवासँग तीनपटक सरकार चलाएको अनुभव समेत छ । सत्ताका माहिर खेलाडी देउवाको निर्णय नेपालको राजनीतिमा महत्वपूर्ण हुन्छ । त्यसकारण देउवा मूलुकको शक्तिशाली पुरुष हुन् ।
३. पुष्पकमल दाहाल ‘प्रचण्ड’  
pushpa_kamal_dahal--621x414
किनभने,
पुष्पकमल दाहाल प्रचण्ड एकिकृत नेकपा माओवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्री हुन् । प्रचण्ड २०११ सालमा कास्कीमा जन्मिएका हुन् । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका प्रचण्ड १० बर्षे सशस्त्र जनयुद्धका नेतृत्वकर्ता हुन् । २०६२÷६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका उनी संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका व्यक्ति हुन् । प्रचण्ड २०६५ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए ।
वर्तमान सरकारको प्रमुख सत्तासाझेदार दल एमाओवादी हो । प्रचण्डको निर्णयले वर्तमान सरकार ढल्न सक्छ । प्रचण्डको पार्टी अहिले मूलुकको तेश्रो दल भएपनि राष्ट्रिय राजनीतिमा प्रचण्ड भने प्रमुख पात्र हुन् । नेपालको राजनीतिको अहिले पनि उनी मियोका रुपमा छन् । सरकार ढाल्न, टिकाउन र बनाउँन एमाओवादीको प्रमुख भूमिका हुन्छ । दुई ठूला दल कांग्रेस र एमाले दुवैलाई सकार बनाउन, गिराउन र टिकाउन एमाओवादीको सहयोगको आवश्यकता पर्छ । एमाओवादी प्रचण्डको निर्णयमा चल्ने गर्छ । त्यसकारण नेपालको राजनीतिका चतुर खेलाडी रुपमा चिनिएका प्रचण्ड शक्तिशाली पुरुष हुन् ।
४. कमल थापा 
Kamal-Thapa-final-650x439
किनभने,
कमल थापा उपप्रधानमन्त्री तथा प्रमुख सत्ता साझेदार दल मध्येको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत हुन् । सन् १९५५ मा मकवानपुरमा जन्मिएका थापा २६ बर्षको उमेरमा नै अखिल नेपाल फुटबल संघको अध्यक्ष हुँदै पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा गृहमन्त्री बनेका थिए । थापाले हिन्दु धर्म र राजतन्त्रको पक्षमा वकालत गर्ने गरेका छन् । मूलुकमा राजतन्त्रको अन्त्य र संविधान सभाबाट संविधान जारी भएर नेपाल गणतान्त्रिक मुलुक घोषणा भइसक्दा पनि राजतन्त्रको पक्षधरहरुको संख्या अहिले पनि उल्लेखिय छ । त्यसैगरी मूलुकको बहुसंख्यक जनसंख्या हिन्दु धर्मवलम्वी छन् । उनले हिन्दुधर्मको मुद्धा अघि सार्दा उनको पक्षमा बहुसंख्यक हिन्दुधर्मवालम्वी लाग्ने सम्भावना छ । हिन्दु राष्ट्र नबनाउनजेल विश्राम नलिने घोषणा गरेको उनले हिन्दु जगारण अभियान चलाइरहेका छन् । थापा हिन्दु राष्ट्र स्थपनाका लागि सडकमा जाँदा मूलुकमा जनताको साथ पाउने देखिन्छ ।
अहिले उनी प्रमुख सत्तासाझेदार दलको अध्यक्ष हुन् भने उपप्रधानमन्त्री, पराराष्ट्र र स्थानिय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेकाले उनको निर्णयले वर्तमान सरकार ढल्न सक्ने अवस्था आउँन सक्छ । वर्तमान सरकार टिकाउने र गिराउने खेलामा उनी पनि निर्णायक खेलाडी भएकाले थापा शक्तिशाली पुरुष हुन् ।
५. लोकमान सिंह कार्की 
Lokman_singh_Karki_982166976
किनभने,
लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख हुन् । २०१३ सालमा काठमाडौंमा जन्मिएका कार्की नेपालको निजामती सेवामा २४ बर्ष काम गरी सेवा निवृत्त भएका व्यक्ति हुन् । उनी अख्तियार प्रमुखमा २०७० सालमा नियुक्त भएका हुन् । अहिले अख्तियारले भष्ट्रचार र अनियमितता गर्नेहरुलाई अनुसन्धान गरि पक्राउ गरिहेको छ । अख्तियार प्रमुखको हैसियतले कार्कीसँग मूलुकका सवै तह र तप्का मानिसहरुलाई अनियमितताको शंका लागेमा प्रक्राउ गरी अनुसन्धान गर्ने अधिकार छ । जनआन्दोलन दवाउने काममा कार्की लागेको भन्दै अख्तियार प्रमुखमा नियुक्त हुँदा र अहिले पनि आलोचना हुने गरेको छ । वेलावेलामा विवादमा आइरहने कार्कीको नेतृत्वमा अख्तियार चल्ने र अख्तियारसँग भष्ट्रचार र अनियमिता छानविन गर्ने अधिकार छ । अख्तियारले केही महिना पहिले शसस्त्र प्रहरीका तत्कालिन महानिरिक्षक कोषराज वन्त सहित अधिकृतहरुलाई भष्ट्रचारको अभियोग लागाउँदै विषेश अदालतमा मुद्धा दायर गरेको थियो । वन्त लगायतका अधिकारीहरुले शसस्त्र प्रहरीमा अनियमिता गरेको पुष्टि समेत भएको थियो ।
भर्खरै पनि अख्तियारले साझा यातायातका अध्यक्ष एंव पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेको गरेको छ । अख्तियारले अकुत सम्पती कमाएको भन्दै दिक्षितलाई पक्रिएको बताएको छ, भने, अधिकारकर्मीहरु लगायतले दिक्षित अख्तियारले व्यक्तिगत रिसिवीका कारण पक्रिएको बताउँदै आएका छन् । यसले के देखाउँछ भने अख्तियारले मूलुक हाँक्ने देखि सामान्य कर्मचारी सम्मलाई अनुसन्धान गरी पक्राउ गर्न सक्छ । अख्तियार जस्तो शक्तिशाली निकायका प्रमुख भएका कारणले कार्की शक्तिशाली पुरुष हुन् ।
६. उपेन्द्र यादव  
Upendra-yadav
किनभने,
उपेन्द्र यादव संघिय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री समेत हुन् । मधेश केन्द्रीत राजनीतिको मियोकारुपमा रहेका यादव संविधानसँग असन्तुष्टी जनाउँदै लामो समयसम्म चलिरहेको मधेश आन्दोलनका नेतृत्व कर्ता हुन् ।
यादव संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वकर्ता मध्ये एक हुन् । अहिले मोर्चा सहितको २७ दलिय संघिय गठबन्धनको नेतृत्व कर्ता मध्ये यादव शिर्ष नेता हुन् । मोर्चा भित्रको प्रमुख राजनीतिक दल यादव नेतृत्वको संघिय समाजवादी फोरम हो । मधेशी राजनीतिका शक्तिकेन्द्र यादव २०१६ सालमा सप्तरीमा जन्मिएका यादव २०३२ साल अघिबाटै राजनीतिमा सक्रिय छन् । २०४८ साल ताका नेकपा एमालेमा रहेका यादव अहिले २०६२/०६३ को जनआन्दोलन पछि फोरम नेपालबाट राजनीति गरिरहेका छन् ।
मोर्चाले संविधान निर्माणसँग असन्तुष्टि राख्दै गत साउन देखि करिव ६ महिना आन्दोलन गरेको थियो । मोर्चाले माग सम्बोधन गर्न सरकारलाई चैत मसान्तको समयसिमा दिएको थियो । समय सिमामा पनि सरकारले माग सम्बोधन नगरेपछि अहिले गठबन्धनले दावावमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गरिरहेको छ । करिब ६ महिना चलेको मधेश आन्दोलनको तुलनामा अहिलको आन्दोलनकोे राप र ताप दुवै छैन् । जेठ देखि कडा आन्दोलन गर्ने गठबन्धनले बताउँदै आएको छ । गठबन्धनले गर्ने आन्दोलनको नेतृत्व यादवले गरिरहेका छन् । उनको निर्णय गठबन्धनमा प्रभावी छ, र त्यही निर्णयले आन्दोलनलाई कता लैजाने भन्नेमा पनि निर्भर रहन्छ । मोर्चाले करिब ४ महिना भारतसँगका सिमा नाकामा अबरोध गर्दा मूलुकमा नाकाबन्दी लागेको थियो । लामो समय आन्दोलन गर्ने र नाकाबन्दी गर्ने मधेशी मोर्चामा यादवको हस्तक्षेपकारी भूमिका छ । उनको निर्णयले गठबन्धनलाई प्रभावीत बनाउन सक्छ । त्यसकारण यादव शक्तिशाली पुरुष हुन् ।
७. बाबुराम भट्टराई
20150511bhattarai-bemoans-govt-relief-efforts-600x0
किनभने,
बाबुराम भट्टराई नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री हुन् । झण्डै १३ बर्ष माओवादी जनयुद्धमा सक्रिय बनेका भट्टराई शान्ति प्रक्रियासंगै खुला राजनीतिमा आएका हुन् । उनी दुवै संविधान सभाको निर्वाचनमा गोरखाबाट भारीमतका साथ निर्वाचित भएका हुन् । उनी २०६८ सालमा नेपालको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित भए ।
एकिकृत नेकपा माओवादीका पूर्वउपाध्यक्ष समेत रहेका भट्टराई एमाओवादीमा हुँदा नेपालको राजनीतिका मियोकारुपमा रहेका प्रचण्ड हरेक प्रतिवेदनमा फरक मत राख्ने व्यक्ति हुन् । सन् १९५४मा गोरखाको बोर्लाङमा जन्मीएका भट्टराईले जनयुद्ध ताका होस या शान्ति सम्झौता पछिको खुला राजनीतिमा होस प्रचण्डको हरेक निर्णयलाई प्रभावित बनाएका थिए । गत असोज ३ गते संविधान जारी भएसँगै एमाओवादी र संसद सदस्य समेत परित्याग गरेका भट्टराईले एमाओवादी परित्याग गर्दा माओवादीका प्रभावी नेताहरुले पनि एमाओवादी परित्याग गरी नयाँ शक्तिमा आए ।
देशमा आर्थिक क्रान्ती आवश्यक छ, भन्ने धारणा राख्ने भट्टराईलाई अहिले पनि देशलाई समृद्धी तर्फ लैजान सक्ने व्यक्तिका रुपमा हेर्नेहरुको संख्यामा कमी छैन् । नयाँ शक्तिको देशव्यापी संजाल बनाउन खटिएका भट्टराईले चाँडै जनताको मन जित्न सक्ने खालका अभियान चलाउँदै हिडेका छन् । आउँदा दिनमा भट्टराई र उनको नयाँ शक्ति देशको बलियो राजनीतिक शक्ति हुन सक्ने कतिपय विश्लेषकले बताउने गरेका छन् । भट्टराईले चाहेमा वा गरेमा अहिले पनि मूलुकको राजनीतिक अवस्थामा फरक हुन सक्छ, त्यसकारण उनी शक्तिशाली पुरुष हुन् ।
८. नेत्रविक्रम चन्द विप्लव 
1bfc802e5127ca07d978f1d1c79f4dc6_L
किनभने,
नेत्र विक्रम चन्द विप्लव नेकपा माओवादीका अध्यक्ष हुन् । चन्द नेतृत्वको माओवादीले अहिले हतियार सहित जनसेना निर्माणमा लागेको बताइदै आएको छ । २०३९ सालमा अनेरास्ववियू  (छैटौं) आबद्ध भई राजनीतिमा होमिएका विप्लव माओवादी जनयुद्धमा लामो समय सक्रिय रहे । एमाओवादी अध्यक्षसँग असन्तुष्ट भई २०६९ सालमा नेकपा–माओवादी गठनमा महत्पूर्ण भूमिका निर्वाह गरेका थिए । विप्लवले नेकपा–माओवादी गठन भएको २ बर्ष नपुग्दै उक्त पार्टीसँग असन्तुष्टी व्यक्त गर्दै आफ्नै नेतृत्वमा २०७१ कार्तिकमा नेकपा माओवादी गठन गरेका थिए ।
मूलुकमा फेरी जनयुद्ध आवश्यक रहेको बताउने उनको पार्टीले हतियार सहित जनसेना निर्माण गर्ने अभियानमा सक्रिय रहेको बताईदै आएको छ । चन्दले चाहेमा वा गरेमा मूलुकमा सानो, ठूलो युद्ध हुने सम्भावना छ । उनले जनयुद्धको कार्यदिशालाई अघि बढाए भने मूलुकमा पुनः संकट आउँछ । उनको नेतृत्वको पार्टीले देशभर चन्दा आतंक मच्चाएको छ । उनी र उनको पार्टीको निर्णय पनि मुलुकमा असर गर्न सक्छ । त्यसकारण चन्द शक्तिशाली पुरुष हुन् ।
९.राजेन्द्र क्षेत्री  
1T0PTO3O
किनभने,
राजेन्द्र क्षेत्री नेपाली सेनाका प्रधान सेना पति हुन् । तनहुँको चोक चिसापानी गाविसको दुधेकुनामा जन्मिएका क्षत्री २०३५ सालमा नेपाली सेनाको सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए । उनी २०७२ भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त भएका हुन् ।
मुलुकको प्रमुख सुरक्षा निकायका हिसावले उनको निर्णयले पनि मुलुकमा प्रभाव पार्न सक्छ । विश्वको सैनिक इतिँहास हेर्दा विभिन्न मुलुकमा सेनाले सत्ता आफ्नो हातमा चलाएको छ । पछिल्लो समयमा मुलुकमा देखिएका समस्या प्रति लक्षित गर्दै क्षेत्रीले मूलुकको अवस्था गम्भिर बने सेना चुप लागेर नबस्ने अभिव्यक्ति समेत दिइरहेका छन् । त्यस्ते सेनाका कतिपय भुपु अधिकारीहरुले पनि मुलुकको अवस्था यस्तै रहे सेनाले जस्तो सुकैै कदम चाल्न सक्छ भन्ने अभिव्यक्ति दिइरहेका छन् । क्षेत्रीले चाहेमा वा गरेमा मूलुकको अवस्था फरक हुन सक्छ, त्यसरकाण क्षेत्री शक्तिशाली पुरुष हुन् ।
१०. विजयकुमार गच्छदार
Bijay Gachhadar
किनभने,
विजयकुमार गच्छदार वर्तमान सरकारका उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री हुन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष समेत रहेको गच्छदार सत्ताका माहिर खेलाडी मानिन्छन् । गच्छदार सँधै शक्तिमा रहिरहन चहाने नेता हुन् । पछिल्लो समयमा संविधान निर्माण प्रक्रिया र संविधान जारी भईसकेपछि पनि संविधानसँग असन्तुष्टि राख्दै सवै मधेशवादी दलहरुले आन्दोलन गरेपनि गच्दार भने अन्तीम समयमा संविधान मान्न तयार भए र सरकारमा सामेल भए । उनको यही कदमले पनि उनमा कति सत्ता मोह छ, भन्ने प्रष्ट हुन्छ । गच्छदारको यही कदम लामो समय चलेको मधेश आन्दोलन असफल हुनुको एउटा कारण रहेको कतिपयले बताउने गरेका छन् ।
२०१० साल सुनसरीमा जन्मिएका उनीले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका हुन् । २०६४ सालको संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम नेपालको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ बाट निवार्चित गच्छदार पनि पार्टी विभाजन गरी फोरम लोकतान्त्रिक गठन गरी त्यसको अध्यक्ष भएका हुन् । पटक पटक मन्त्री भएका गच्छदार माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान मन्त्री र बाबुराम भट्टराई नेतृतवको सरकारमा गृहमन्त्री बनेका थिए ।
६ वर्षभन्दा बढी जेल जीवन बिताएका गच्छदार सँधै नाफा घाटाको राजनीति गर्ने गरेका छन् । गच्छदार अहिले पनि सत्ता टिकाउने र ढाल्ने खेलमा निर्णायक बन्न सक्ने कतिपयको विश्लेषण छ । सत्ता र शक्तिका माहिर गच्छदार पनि शक्तिशाली पुरुषको सूचिमा छन् ।

0 comments for " नेपालका १० शक्तिशाली पुरुषहरु को को हुन्..? थाहा पाई राखौ "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives