-नेपालमा एक बर्षमा ठूलो भूकम्प जाने सम्भावना नरहेको विज्ञहरुको भनाई !!

Posted by News NP on | 0 comments


चितवन, १२  वैशाख । एक वर्षअघि वैशाख १२ गते गएको भूकम्प भोलि पुनरावृत्ति हुने सम्भावना नरहेको विज्ञले बताएका छन् ।


विगतमा पनि समयसमयमा भूकम्प गएका भएपनि ठीक एक वर्षमा त्यस खालको भूकम्प गएको नदेखिएको भन्दै एक वर्षको समयमा ठूलो भूकम्प आउँछ भन्ने हल्लाका पछाडि कुनै आधार नभएको प्रा डा हरिहर पौडेलले बताउनुभयो ।

बनारस हिन्दु विश्वविद्यालयबाट सन् २००८ मा नेपालको भूकम्प र भूकम्पीय जोखिम विषयमा विद्यावारिधि गर्नुभएका पौडेलले भूकम्पको पूर्व घोषणा गर्न नसकिने भएपनि एक वर्षपछि सोही दिन ठूलो भूकम्प आउने सम्भावना भने नरहने बताउनुभयो ।

भूकम्प विज्ञान विज्ञानमध्येकै कान्छो भएको तर भूकम्प मानिसको सबैभन्दा पुरानो दुश्मन भएको भन्दै उहाँले नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको भएपनि यति नै बेला जान्छ भनेर घोषणा गर्न नसकिने बताउनुभयो ।

नेपालमा यसअघि सबैभन्दा ठूलो भूकम्प वि.सं १९९० माघ २ गते दिनको २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको थियो । ८.४ रेक्टर स्केलको सो भूकम्पबाट आठ हजार ५१९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि वि.सं २०४५ भदौ ५ गते बिहान ४ बजेर ५४ मिनेट ३५ सेकेन्डमा नेपालको पूर्वी भाग उदयपुर जिल्लामा केन्द्रबिन्दु बनाएर गएको ६.६ रिक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु भएको थियो । वि.सं २०३७ साउन १४ गते बझाङ जिल्लामा गएको ६.४ रिक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु भएको थियो ।

यसका अतिरिक्त विभिन्न समयमा सानातिना भूकम्पहरु गएको भएपनि नियमित भूकम्प भने नगएको उहाँले बताउनुभयो ।

गतबर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिका ठूला पराकम्पनका कारण जमिनमुनिको भाग अत्यन्तै कमजोर भएकाकारण लामो समयसम्म पराकम्पन गइरहेको बताउँदै पौडेलले अझै केही समय पराकम्पन आइरहने बताउनुभयो ।

नेपालको भूभागमा इन्डियन प्लेटसँग तिब्बती प्लेट निरन्तर ठोक्किइरहने कारणले ठूलो मात्रामा शक्ति सञ्चय हुन गएको र त्यही शक्ति भूकम्पको रुपमा बाहिर आउने हुनाले नेपालमा भूकम्पको सधैं जोखिम हुने गरेको उहाँले बताउनुभयो । रासस

0 comments for " -नेपालमा एक बर्षमा ठूलो भूकम्प जाने सम्भावना नरहेको विज्ञहरुको भनाई !! "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives