-केपी ओलीलाई रोक्न दिल्लीको टोपबहादुरलाई ५ अर्ब प्रस्ताव !
Posted by News NP on | 0 comments
काठमाडौँ २३ पुस–उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गराउन भारतले आफूलाई ५ अर्ब रुपैयाँ दिने प्रस्ताव गरेको दाबी गरेका छन् ।
एकीकृत माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा मंगलबार बोल्दै रायमाझीले तत्कालिन एमाओवादी पोलिट्ब्युरो सदस्य रामचन्द्र झाले आफूलाई टेलिफोनमार्फत उक्त प्रस्ताव गरेको बताए ।
झाले भारत कुनै पनि हालमा केपी ओलीलाई प्रधानमन्त्री हुन नदिने रणनीतिमा रहेको र सुशील कोइराला प्रधानमन्त्री भएकाले जित्नेका पक्षमा भोट दिन भनेको रायमाझीको भनाइ थियो । ‘सुशील कोइरालालाई प्रधानमन्त्री हुनबाट कसैले रोक्न सक्दैन’, रायमाझीले झाको भनाइ उद्धृत गर्दै भने, ‘तपाईं एमाओवादीका २५ जना सांसदको भोट सुशीललाई दिलाउनुस् पाँच अर्ब आउँछ ।’
क्रान्तिकारीका एक नेताका अनुसार झाले रायमाझीलाई एमाओवादीका २५, एमालेका १५, राप्रपाका १३ र विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकसहित सबै मधेस केन्द्रित दलले समर्थन गर्ने पक्का भएकाले सुशील प्रधानमन्त्री निश्चित भएको दाबी गरेका थिए ।
रायमाझीले संसदमा प्रधानमन्त्री निर्वाचन हुनुभन्दा दुई दिनअघि झाले आफूलाई हिन्दी भाषामा टेलिफोन गरेको उल्लेख गरे । आफूले झालाई राष्ट्रियता खतरामा पर्ने गरी भारतीय डिजाइनमा सुशीललाई प्रधानमन्त्री जिताउन नसकिने र पार्टी निर्णय तथा निर्देशनविपरीत आफू नजाने जवाफ झालाई दिएको रायमाझीले बताए ।
‘मलाई पैसा चाहिएको छैन । म राष्ट्रियताको पक्षमा छु । पार्टी निर्णयविपरीत जान सक्दिन । केपी ओलीलाई प्रधानमन्त्री बनाएरै छाड्छु भन्दिएँ’, रायमाझीले भने ।
रायमाझीले दुई दिन दुई रात नसुती आफू केपी ओली जिताउन लागिपरेको र सोही कारण जण्डिसले थला परेको सुनाए । रायमाझीले पार्टी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकर्ता भएको दाबी गरे ।
आफूले २०३४ सालमा र भट्टराईले त्यसको तीन वर्षपछि ०३७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएको भन्दै उनले आफ्नै योगदानका कारण बाबुराम प्रधानमन्त्रीसम्म भएको जिकिर गरे । ‘आज मैले यो कुरा गर्ने हो भने त दुनियाँ हास्छ’, उनले भने, ‘बाबुरामजी मैरै कारणले प्रधानमन्त्री बन्नुभयो तर दुःखको कुरा मलाई नै थाहा नदिई पार्टी छाड्नुभयो ।’

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -केपी ओलीलाई रोक्न दिल्लीको टोपबहादुरलाई ५ अर्ब प्रस्ताव ! "
Leave a reply