-चिसोलाई मामुली नठान्नुस्, हेलचेक्र्याईँ गरे मृत्यु पनि हुन सक्छ..
Posted by News NP on | 0 comments
काठमाडौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पुर्याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।
तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मात्र हुन् ।
यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उनको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उनकी श्रीमती मनेश्वरी गोर्खालीले बताइन् । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउँछन् ।
उनले अहिले स्नायु अस्पतालमा पक्षघात र स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए । उनले भने, “स्ट्रोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”
उनका अनुसार जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -चिसोलाई मामुली नठान्नुस्, हेलचेक्र्याईँ गरे मृत्यु पनि हुन सक्छ.. "
Leave a reply