केपी ओलीले भने- संविधानमा मेरा पनि असहमति छन्

Posted by Unknown on |



२७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संविधान विधेयकमा आफ्ना पनि केही असहमतिहरु रहेको बताएका छन् । तर, आफू र आफ्नो दलको असहमति रहे पनि संविधान जारी गर्नुपर्ने भन्दै ओलीलाई सबैलाई संविधानसभामा आउन आग्रह गरे । - See more at:
कतिपय कुरा चित्त नबुझेका हुन सक्छन्, मेरा पनि चित्त नबुझेका कुराहरु होलान्’ आइतबार संविधानसभाको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘जनताले अधिकार पाउनुपर्दछ, त्यसकुराको प्रत्याभूति हामीले संविधानमा गर्नुपर्छ, जुन यो विधेयकमा भएको छ । कतिपय कुरा नपुगेका, छुटेका हुन सक्छन्, संविधान जारी भएपछि पनि त्यसलाई मिलाउन सकिन्छ ।’
संविधानसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले अगाडि भने- मेरा पनि केही असहमति हुन सक्छन्., तर म अहिले त्यस्ता कुराहरु राख्न चाहन्न । यो उपलब्धि हो, यो उपलब्धीहरुमा म खुशी व्यक्त गर्न चाहन्छु ।’
सबैप्रति सन्तुलितरुपमा प्रस्तुत भएका ओलीले आफ्ना मत मतान्तर अघि सारेर, संविधान जारी गर्न नदिएर हिंसाको माध्यमबाट आफ्ना कुराहरु मान्न लगाउने कार्य सही नहुने बताए । ओलीले सबैका हक हित स्थापित गर्नका लागि आगामी दिनमा संविधान सच्याउन तयार रहेको बताए ।
संविधानसभा छाडेर गएकाहरुलाई संविधानसभामा आउन आग्रह गर्दै भने- ‘कुनै भावनामा नबग्नोस् । जनताले लडेर ल्याएको संविधानसभाबाट अब बिलम्ब नगरिकन संविधान जारी गर्नुपर्दछ । हामी संविधान बनाउनका लागि आएका हौं । मैले जे भन्छु त्यही हुनुपर्छ भन्ने हो भने त्यो पूरा नहुन सक्छ । यहाँ धेरै पार्टी छौं, अरुका कुरा सुन्नुपर्छ ।’
एमाले अध्यक्ष ओलीले मधेसका केही मान्छेले उत्ताउलो कुरा गर्दैमा मधेसी जनता त्यसैका पछाडि नकुद्ने बताए । उनले मधेसतर्फ लक्षित गर्दै भने- ‘त्यहाँ केहीका मात्रै त्यस्ता उत्ताउला स्वरहरु छन् ।’
संविधानसभामा ओलीका भनाइहरुको सार यस्तो थियो-
गरीबीबाट देशलाई मुक्त पार्नु छ । भूकम्प पछि पुनर्निमाणमा लागेर भयावह स्थितिबाट देशलाई मुक्त गर्नु छ । विकासको बाटोमा लाग्नु छ । जनता गरीबीबाट तड्पिएका छन् । जनतालाई लोकतान्त्रिक प्रणालीअन्तरगत अबको सम्बिधानमार्फत सम्बृद्धिको बाटोतर्फ अगाडि बढ्नुपरेको छ ।
हामी संविधान निर्माण गर्ने ऐतिहासिक चरणमा छौं । अप्ठ्यारा छन् । अप्ठ्याराहरु भए पनि प्रमुख राजनीतिक दल, अरु दल र सभासदज्यूहरुले जनताबाट छानिएकाहरु संविधानसभालाई खेर जान नदिने जुन अठोट देखाउनुभएको छ, म प्रशंंसा गर्न चाहन्छु ।
कोही साथीहरुप्रति आग्रह पूर्वाग्रह राख्नुपर्ने आवश्यकता छैन । बाहिर रहेका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, तपाईहरुका मागहरु सम्बोधन गर्न हामी तयार छौं । संविधानसभाको प्रक्रिया रोकेर होइन, यसलाई अगाडि बढाऔं ।
हामीकहाँ विविध विचारहरु छन् । विचारमा विविधता छ । तर, एउटा स्वागतयोग्य के छ भने यसलाई अगाडि बढाउन हामी सहमत भएका छौं । लोकतन्त्र भनेकै विरोध गर्न पाउने, असहमति राख्न पाउने यही हो लोकतन्त्र । तर, असहमतिलाई सहमतिमा परिणत गर्न सकिन्छ । कसैले बुझेको छैन भने बुझाउन सकिन्छ । त्यसैले आफ्ना आफ्ना विचारहरु संविधानसभामा राखौं । आफ्ना अभिमतहरु दर्ज गर्ने र प्रक्रियाहरु दर्ज गर्ने र प्रक्रियामा सहभागी हुने यही हो लोकतन्त्र । त्यसैले आउनोस् प्रक्रियामा सहभागी बनौं ।
जनताका भावनाका कुराहरु होलान् । कर्णालीका कुराहरु होलान्, तराईका कुरा होलान्, वर्ग समुदायका कुरा होलान्, अहिले ती कुरालाई सिरानीमा हालेर संविधान नबनाउनेतिर जानुहुँदैन । अहिलेसम्म दलित, महिलाका हकका सम्बन्धमा एमाले अगाडि रह्यो । दलितका लागि एमालेले केके गर्‍यो ? उपराष्ट्रपतिको उमेद्वार, मन्त्री बनाएको छ । उत्पीडितलाई कोटा दिएको छ । जनतालाई हक अधिकार दिलाउने कुरामा एमाले पछाडि पर्दैन । संविधान संशोधनमार्फत केही कमी छन् भने लिएर जाने, सम्बोधन गर्ने काम गर्छौं ।
अहिले आन्दोलन जुन चलिरहेको छ, अहिले यसको आवश्यकतै छैन । यसमा संवादको ठाउँ छ । आफ्ना कुरा राख्ने ठाउँ छ । यस्तो अवस्थामा बहस, छलफल छाडेर आन्दोलनमा जानुपर्ने कुनै आवश्यकता छैन । आन्दोलन रहरको विषय होइन ।
आन्दोलनका नाममा राष्ट्र विखण्डनका कुरा गर्ने, सार्वभौमसत्ता विरुद्ध भड्काउने, प्रहरी देख्यो कि आक्रमण गर्ने, जुलुसमा प्रहरी देख्यो कि पेट्रोल खन्याउने, यस्तो गर्नु हुँदैन । यसले द्वन्द्व र भीडन्त बढाउने खतरा हुन सक्छ, त्यता पटि्ट जान हुँदैन ।
ताकेर गोली चलाइएको हो भने त्यस्तो हुनुहुँदैन । जनताप्रति सम्वेदनशील हुनुपर्छ । हिंसा भड्काउने दिशातिर जानु उचित हुँदैन । हामी सम्वादमा बसौं, संविधान जारी गरौं, गर्नुपर्ने हेरफेरहरु गरौं ।
लामो समय जनताले बलिदानी दिए । अब पनि हामी तनावतिर जान दिनुहुँदैन । सार्वभौमिकतामाथि चुनौतीको भाषा बोल्ने कुरा नेपाली जनतालाई स्व्किार्य हुँदैन । तराईका नाममा, मधेसका नाममा यस्ता कुराहरु आन्दोलनका नारा होइनन् । राष्ट्रको भौगोलिक अखण्डताविरुद्ध दुस्प्रयासलाई नेपाली जनताले कुनै पनि स्वीकार्दैनन् नेपालीहरुको देशभक्ति इतिहासमा प्रभावित देशभक्ति हो । कतै अहिले आएर पलाएको होइन । दुनियाँमा उपनिवेशिक युग थियो, नेपाल सदैव स्वतन्त्र रह्यो । अब पनि नेपालले आफ्नो भौगोलिक अखण्डता तलमाथि हुन दिँदैन ।
मधेसका केही मान्छेले उत्ताउलो कुरा गर्दैमा मधेसी जनता त्यसैका पछाडि कुद्दैनन् । केहीका मात्रै त्यस्ता उत्ताउला स्वरहरु छन् ।
केही सभासद अनसनमा बस्नुभएको छ, अनसन बसिरहनुपर्दैन, हामी छलफल गर्न सक्छौं । अन्तरिम संविधानको व्यवस्थामा तलमाथि नपर्नेगरी यताउति नपर्ने मिलाउन तयार छौं । हामीले समावेशीको अभ्यास बढाएका छौं ।
जनताद्वारा निर्वाचित संविधानसभाबाट आधिकारिकरुपमा संविधान बनाउनु ठूलो. आधिकारिकता हो । हामी अगाडि बढिसकेका छौं । संविधान जारी गर्नुपर्छ, गर्छ । गणतन्त्रलाई यो संविधानबाट संस्थागत गर्दैछौं । संघीयतालाई संस्थागत गर्दैछौं । अरु यावत कुरालाई संस्थागत गर्दैछौं । केही बाँकी छन् । अनसन पनि नबसौं बाहिर रहेका साथीहरु पनि भावनामा नबगौं । यसका निम्ति योगदान गर्न सरिक होऔं । हामी खुल्ला छौं ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives