~~म यसरी वेश्या भएँ एक नेपाली चेलीको दर्दनाक कथा (अवस्य पढ़नुनुस सबैलाई सचेत गराउनुहोस),,,!!!>>>

Posted by Anonymous on | 0 comments


मध्य दिनको चर्को घाम । टाउको फुट्लाजस्तै भएको थियो । शरीरबाट निस्केको पसिनाको धारा पैतालासम्म पुगेको थियो । खुट्टा फतक्क मासी गलेझैँ भएको थियो । लर्‍याकलुरुक शरीर बनाउँदै बल्ल एउटा रुखको छहारीमा पुग्यौं ।
यसो हेरेँ, भुईमा दुबो उम्रिएको थियो । थ्याच्चै बस्यौं । सररर हावाले एकैछिनमा ज्यान फुर्तिलो बनायो । एक बोतल मिनरल वाटर एकै पटकमा मुख ननिकाली सकेँ । बल्ल आनन्द भयो। खल्तिबाट रुमाल निकालेँ । पसिना पुछेँ । विस्तारै शरीर ओभानो भयो । अनि प्राकृतिक स्वच्छ हावासँग मस्त भएँ ।
हामी आराम गरेको केही मिटरपर एक परिचित आकृती जस्तै लाग्यो । थकाई मर्दै जाँदा तातेको शरीर बिस्तारै चिसिँदै गयो । मैले सम्झने कोसिस गरेँ । अहँ, त्यो मेरो लागि बिलकुलै नयाँ अपरिचित अनुहार थियो तर, पनि कतै देखे देखे जस्तो, पहिले नै बोली सकेको जस्तो लाग्यो । जति स्मरण गर्दा पनि मैले ठम्याउन सकिनँ । ह्या, जोसुकै होस् मलाई के मतलब ! मनमनै एकोहोरो सोचिरहेँ तर, आखाँ उनी बसेतिरै गईरह्यो ।
मैले जोडले धकेल्दै दुई नयनहरुलाई नियन्त्रण गर्दै अर्कै ठाउँतिर केन्द्रित गर्ने कोसिस गरेँ तर, मेरो हर प्रयास असफल भयो । अनियन्त्रित हुँदै आँखा मध्यदिनको टन्टालापुर घाममा एउटा रुखको फेदमूनि शितल तापिरहेकी सुन्दरीमाथि जोडले ठोकिन पुग्यो । अन्ततः मैले मेरो नयनसँग हारेँ र स्वतन्त्र छाडिदिएँ …
‘ए मिलन ! त्यो केटी त कताकता देखे जस्तो लाग्छ नी ? हेर्न यार तँलाई याद छ की ?’
अघिदेखि उसले पनि चिने जस्तो गरेर हेर्दै छे । छड्के हेर्दै यता उत्ता गर्दै छे । को होला यसरी छड्के हेरिरहने ? मेरो मनमा कौतुहल्ता जाग्यो तर मेरो जिज्ञाशा साम्य भएन ।
‘खोई, होला नि । तँलाई साईड हानेको ! अलि राम्रोसँग हेर ऊ कता फर्केर बसेकी छ । खुब तँलाई निहुरी निहुरी हेरेकी होली । सपना नदेख दिउसै !’
मिलनले अझै थप्यो, ‘आजकाल केटाले केटी हैन केटीले केटा पट्याउने जमाना आको छ । मलाई यस्तो कुरामा चासो छैन ।’
मिलन पन्छिन खोज्छ तर, मेरो मनले पट्टकै मान्दैन । यसरी उनले पटकपटक छड्के हेरिरहँदा एकप्रकारको हर्ष सञ्चार भएझैं लाग्नुको साथै मनमा काउकुतिको वर्षा हुन्छ । यो वर्षाले भित्रभित्रै मेरो शरीर लुथ्रुक भिजिसकेको हुन्छ तर पनि मन पोलिरहेको हुन्छ । एकपछि अर्को प्रश्न सृजित हुन्छ ।
‘जे भए पनि कतै देखेको छस् की छैनस् ? यति त भन !’
‘कस्तो कुरा गर्छस् यार ? जीवनको यात्रामा यस्ता मान्छे कति देखिन्छन् भेटिन्छन् । कति बनाईन्छन् कति छाडिन्छन् । कति टुटाईन्छ कति फुटाईन्छ । कहाँ सबैको रेकर्ड राख्न सकिन्छ यार । बरु सिधै भन्न मन पर्‍यो, घुमाउरो पाराले किन कुरा बटार्छस् ? जाउँ कुरा गर्न भनेर भन । कुरै सकिन्छ !’ उले सन्नक सन्केर मुन्टो बटार्छ । मनमनै सोच्छु- कस्तो केटा, बेकारमा यसलाई साथी लिएर आएछु झैं लाग्छ !
‘कस्तो कुरा गर्छस् यार । कतै अप्ठ्यारो परेर हामीलाई हेरेकी हुन् कि यसो कुरा गरौं न पो भनेको त । मानव धर्म हो यार अप्ठ्यारो पर्दा सहयोग गर्नु पर्छ ।’
‘चिन्नु जान्नु छैन । तँलाई केटी भनेपछि अप्ठ्यारो पर्‍यो की सप्ठ्यारो जा न सहयोग गर नेपाली हो की विदेशी हो, थाहा छैन । फस्लास् है केटा । जा गएर सोध म चाहिँ बाल हान्दिनँ । यो जमाना सहयोग गरेर धर्म कमाउने हैन । सहयोग गरेको कसैले देख्दैन । भोलि बदनाम भएको सबैले देख्छन् । बरु मलाई भोक लाग्यो म चाँहि हिडेँ भाइ अब ।’
मलाई खल्लो लाग्छ । फेरि विदेशमा अप्ठ्यारो पार्नेहरु धेरै हुन्छन् । पहिले पनि कतिलाई सहयोग गरियो ।
‘सोच यार मानवता भन्ने कुरा बिर्सनु हुन्न । आपत्तवित्तमा सहयोग गर्न जान्नुपर्छ ।’
मिलनले अनुरोधको साथ दिक्क मान्दै भन्छ- ‘प्लिज तँ गएर सोध न यार । ल जाँ म यहिँ बस्छु तर अप्ठ्यारो पर्‍यो भने मलाई कहिल्यै नभन । त्यति हो यहाँ जसलाई जति सहयोग गरेपनि नाम आउँदैन । अलिकति तलमाथि भो भने भोलि बदनाम हुन्छ । सबै छि:छिः दुरदुर गर्न लागि पर्छन् । नचिनेको होर ! मान्छे कस्ता छन् भनेर । राम्रो काम गर्दा सबका मुखमा बुझो लाग्छ । कहिकतैँ चाईचुई हुन्न । जब छिसिक्क सानो केहि हुन्छ सारा जनसागर त्यसकै विपक्षमा लागि पर्छन् । त्यसैले साथी बेलैमा होस पुर्‍याउ भन्ने मात्र मेरो भनाई हो ।’
‘ल त यहिँ बस म कुरा गरेर आउछुँ !’
‘मुटुमा दम छ,’ उसले थपिहाल्छ । मज्जाग गर्छ र हाँस्छ ! तर मेरो कुरा पत्याउँदैन । ‘छिट्टै आईज नत्र म जान्छु । ट्याक्सी चढेर कोठा जान्छु ।’ झिमिक्क आँखा पार्दै मजागमा उडाउँछ ।
‘ह्या सिधा बोलाउन मुटुमा दम चाहिँदैन । म प्रपोज गर्न जान लाग्या हो र ? काम्दै जानु ! म त चिने जस्तो लागेर हाम्रो सहयोगको अपेक्षा, आवश्यकता भएर हो की भनेर पो सोध्न जान लाग्या त !’
तर, मन भित्र सोच्छु- तँ पनि कहाँ कमको छस र ! मैले कुरा गर्ने भो भनेर भित्रभित्रै जलेको होला । मसँग स्वाङ पार्छस् ।
यत्ताउत्ता दायाँबाया हेर्छु । मेरो मनको कुरा बुझ्यो कि झैं लाग्छ तर उ आफ्नै धुनमा मोबाईलमा व्यस्त हुन्छ ।
मिलनले पत्याउँदैन । ओठ लेब्र्याउँदै भन्छ- ‘ल ल गएर सोधी हेर । चपल चाहि नखाँएस् । म चाहि अर्कैपट्टि फर्किन्छु । आफ्नै साथीले चप्पल खाएको कसरी हेर्नु ।’
ऊ भने अझै डायलग हान्दै छ । मन अलि हलुका बनाएर अगाडि बढेँ । लगभग बीस मिटरको फरकमा हामी आराम गरिरहेको थियौं !
‘हाई ! फ्रेण्ड’ पहिलो पटक बोलेको बोली भित्र नै निस्सासियो । दोस्रो पटक उनको कानसम्म पुगेन । तेस्रो पटकमा मुस्किलले उनको कानमा पर्‍यो ।
‘हाई’ उनी तर्सेझैं गरिन्, ‘….एस हाई..’
मैले सोधेँ- ‘यू आर फ्रम ….’
उनले सरल उत्तर दिईन्, ‘एम फ्रम नेपाल..’
‘ओहो तिमी नेपाली …’
‘ए हजुर पनि नेपाली !’ उनको मन्द मुस्कानसँगै म पनि खिस्स हासिदिएँ ।
मैले थपेँ, ‘तिमी त फिलिपिनी गर्ल होला भन्ठानेको त नेपाली नै रैछौ !’ ‘मैले पनि जापानीज होला पो सोचेको थिए हजुर त नेपाली हुनुहुँदो रहेछ,’ उनले पनि भन्न छाडिनन् ।
मरुभूमिमा अफ्रिकाका कालेहरु त कति प्यारो साथी बन्छन् । झन नेपालीहरु नै भेट्दा त आफ्नै परिवारझै लाग्छ । उनी त नेपाली । अहो ! मन फुरुङ्ग भयो । जे होस्, खुसी लाग्यो ।
‘अनि तिम्रो शुभनाम प्लिज !’
‘दिपा ।’
‘ओ नाईस नेम ।’
उनी फुरुक्क परिन् तर मेरो परिचय मागिनन् । कति सोझि रैछिन् । गाउँबाट आएकी होलिन् । मैले एकैछिनमा अनुमान लगाएँ ।
एकछिन त प्रसङ्ग नै टुङ्गियो । के बोलौं बोलौं भयो । त्यति बेलासम्म धड्कन बढेर निक्कै जोडसँग ढुकढुक हानिरहेको थियो । उनी पनि टोलाई रहिन् ।
‘कोठा कति टाढा छ ?’ मैले नै प्रश्न गरेँ । उनले उत्तर दिईन्, ‘आधा घण्टा ट्याक्सीमा जानुपर्छ ।’
‘नजिकै रहेछ ।’
‘तपाई को नि ?’
‘मेरो त पन्ध्र मिनेट जति लाग्छ । यहाँ शितल ताप्न आउने गरेको छु ।’
उनी ‘ए’ मात्र भनेर चुप रहिन् । सायद अब सबै प्रश्नको उत्तर सकिएजस्तै भयो । एकछिन चुप बसेपछि फेरि सन्दर्भ आफैंले निकालेँ । ‘खुसी लाग्यो तिमीसँग भेट्दा …’
‘घर कुन जिल्ला हो नेपालमा ?’
‘पाल्पा । हजुरको नि ?’ उनले फेरी त्यही प्रतिप्रश्न गरिन् । मैले मख्ख हुँदै ‘काठमाडौं’ भनिदिएँ । उनले सजिलै पत्याईन् । ‘ए हजुर त शहरमा जन्मनुभएछ, भाग्यमानी हुनुहुँदो रहेछ !’
के भाग्यमानी हुनु ! धुवाँधुलो खाएर बाँचेका छौं । फेरि भाग्यमानी भएको भए यो खाडीमा किन आउनुपर्थ्यो । यूरोप अमेरिका गईहाल्थेँ नि ।’
उनी मुर्छा पर्दै हाँसिन् । जे होस रमाईलो महसुस हुँदै थियो उनीसँगको संवादले ।
‘हजुर पनि रमाईलो हुनुहुँदो रहेछ ।’
‘विवाह भईसक्यो ?,’ मैले सोधेँ । उनले लाज मानिन् र उत्तर दिईनन् । ‘तपाईले गर्नुभयो ?’ उल्टै सोधिन् । मैले ‘गरेको छैन’ भनेर ढाँटिदिएँ । यति सानैमा विवाह गरेर कसले पाली दिन्छ श्रीमती ?’ उनी हाँसी मात्र रहिन् ।
मलाई एउटा चिन्ताले सताउन सुरु गर्‍यो । मिलन आएर पो कुरा बिगार्दिने हो की भन्ने मनमा डर थियो । विवाह गरेर पनि छोरा भईसक्यो तर विवाह गरेको छैन भनेर ढाँटेको छु । पछाडी फर्केर हेरेँ । मिलन त्यहाँ थिएन अनि ईनबक्समा म्यासेज गरेँ, ‘त हिड्दै गर । म एकछिमा आउँछु ।’ ऊ अफलाईनमा थियो । रिप्लाई दिएन ।
यति बेलासम्म भलाकुसारी राम्रै भईरहेको थियो ।
‘गर्मी छ त हो’ म उनी छेउतिर सरेँ । उनी सतर्क हुँदै अलि पर हटिन् । म चुप भएँ । उनले प्रश्न गर्दिए हुन्थ्यो झैं लागेको थियो । अहँ, उनी मैले कुरा नसोधेसम्म चुप रहन्थिन् ।
फेरि प्रसङ्ग बदलेँ । ‘आज काम थिएन ?’
‘थियो । मैले छुटी लिएको भएर । अनि तपाईहरुको नि ?’
मैले पनि छुटी लिएको हो भनिदिएँ तर वास्तवमा छुट्टी थिएनँ । मैले ढाटिदिएँ । कम्पनीको कामले वाक्क भएर हामीले बिरामी नहुँदा पनि बिरामी भनेर एक दिने मेडिकल सर्टिफिकेट बनाएका थियौं । हामी हावा खान गएका थियौं । तर त्यहाँ त्यस्तो उत्तर दिँदा अर्कै अर्थ लाग्न सक्थ्यो ।
‘कति भयो खाडी आउनु भएको ?’
‘एक वर्ष । तपाईं नि ?’ उनले पनि त्यहि प्रश्न तेर्स्याइन् ।
‘दुई वर्ष । अब एक महिनापछि जादैँ छु ।’
‘ए’ भन्दै सहमत जनाईन् ।
‘पहिले कहाँ काम गर्थ्यौ ?’ मैले नै सोधेँ ।
उनी अकमक्क भईन् । ‘किन भन्न मिल्दैन ?’ अनकनी गर्दै थिईन् । प्रश्नमा प्रश्न थपिदिएँ । उनलाई सोच्ने टाईम नै दिईनँ । मेरो बायो आफैंले भनेँ, ‘म त पढ्दै थिएँ ।’
अनुहार अँध्यारो बनाउँदै भनिन्, ‘म.. म…’
‘भनन भन । तर झुट नबोल । झुट मलाई मन पर्दैन ।’
केहि छिनको तितामिठा भलाकुसारी गर्दागर्दै हामी घुर्कि लगाउनेसम्म पुगिसकेका थियौं । एकछिन अगाडिको अपरिचित हामी यति छिटै विश्वासमा आफ्ना कुरा साटसाट गर्न थालिसकेका थियौं ।
उनले रोक्किँदै, फिक्का अनुहार बनाउदै भनिन्, ‘वेश्यावृत्ति गर्थेँ …’
‘कस्तो गफाडि । जे पायो त्यहि ।’ मलाई जिस्क्याए जस्तो लाग्यो । म झनक्क रिसाएएझै गरेँ । ‘साच्चिँ भन प्लिज । मलाई भन्न हुन्न र ? टाढाको नसोच । दुःख सुखमा सहयोग गर्न तयार छु । तिमी भन मात्र जे पनि गर्न तयार छु ।’ गफ मज्जाले लगाईदिएँ । उनले पत्याएझैँ गरिन् ।
‘ह्या के वाहियात कुरा गरिराको … भनन् यार …’
‘हो, सर हजुर पत्याउनु नपत्याउनु तर म ‘वेश्या’ हुँ !’
‘म सरजस्तो छु हो ?’ फेरि जिस्किएँ ।
‘सम्बोधन त हो दाई भाइ नै भन्छु नि त ।’
मलाई याद आयो । ‘होस् गरेर जा, चपल खालास्’ भनेको । बरु चपलले हानेको भए पनि यति भाव विह्वल र विस्मात हुने थिएन । एउटा नेपाली चेलीको कथाले मलाई चप्पल हानेको भन्दा हजार गुना पीडा दियो ।
‘नाईं नाईं ! सर नै भन । दाई भाइ नभन…!’ फिस्स हासेँ । उनले पनि फिक्का मुस्कान् छाडिन् । यो मुस्कानमा धेरै रहस्य जोडिएको हुनुपर्छ भन्ने मलाई लाग्यो । अहिले भने उनी भावुक भईन् । मैले मन थाम्न सकिनँ । उनले बररर आँसु झार्दै भनिन्, ‘हो, सर म वेश्या हुँ तर रहरले वेश्या भएको हैन । आफ्नै काकाले राम्रो कमाई हुन्छ, मेरा आफ्नै मान्छे छन् । राम्रो काम हुन्छ भनेर मलाई फसाए ! उनीहरुले मलाई कमिसनको लोभमा कोठीमा बेचिदिएका रहेछन् । के को कमाई हुनु … । मेरो जीवन बर्बाद भयो सर !’ उनका आँखाहरु टिलपिल भएका थिए । गला अवरुद्ध भएको थियो ।
यो कुराले म आफैँ मुर्छा परे । काका भनाउँदालाई मनमनै श्राप दिएँ- ‘थुईक्क कस्तो पापी काका । कस्तो रहेछ तेरो मन !’ अनौठो चिरचिरहाट र उकुसमुकुस भयो । के सोचेर आएको थिएँ । कस्तो फसादमा परेँ । पछुतो मान्दै मिलनले भनेको कुरा सम्झेँ । कस्तो दिनमा सोध्न आएछु !
उनले आफ्नो मनको कुरा गुम्स्याएर राखेकी रहिछिन् । अपरिचित मान्छे हामी एकै छिनमा परिचित भयौं । परिचित हुँदासम्म पनि कुनै खुसीको कुरा थिएन । उनी त समस्यामा परेकी बेचिएकी नेपाली रहिछिन् ।
हामी एकै छिनमा यति धेरै नजिक भयौं । जुन हाम्रो सम्बन्ध धेरै वर्ष अघिदेखि भएको जस्तो । उनी मेरो पुरानो साथीजस्तै भईन् । तर हैन उनीसँग त आज पहिलो पटक भेट भएको थियो । उनको कुरामा म आफु पनि भावुक भएँ ।
मन अमिलो भयो । दुःख लाग्यो । आफ्नो काकाहरुले यसरी आफ्नै छोरीचेली कसरी बेच्न सकेका होलान् ? भन्ने प्रश्नले भित्रभित्रै चिमोटीरह्यो । लामो श्वास ताने । हे भगवान! कस्तो दु:ख देख्नु परेको छटपट्टी लाग्न थाल्यो । उनको कुराले ठूलो स्वरमा चिच्याएर रुन मन लाग्यो तर त्यो हिम्मत गर्न सकिनँ । मन बुझाउन् आफैलाई सान्त्वना दिएँ तर पनि मन बहकिरह्यो ।
फेरि सोध्न मन लाग्यो, ‘कसरी छुट्करा पायौ त ? कसले निकाल्यो कोठीबाट ?’
‘म सिकिस्त बिरामी भएको थिएँ । लामो समय महिनावारी रोकिएको थियो । त्यसैले मलाई त्यहाँबाट गलहत्याएर भारु दुई हजार दिएर गाडीमा हालेर कहिल्यै नचिनेको नजानेको ठाउँमा छाडिदिए । बल्लतल्ल म नेपाल फर्किएँ तर पैसा कमाउन गएकी छोरी पेटमा बच्चा बोकेर फर्किएकी थिएँ ।
घर, समाजमा बसिसक्नु थिएन । मैले छोएको पानी नखाने भएका थिए । मैले काकाकाकीको हत्या गर्ने विचार गरेको थिएँ तर आँट गरिनँ । मलाई अरु कोहि नभएर आफ्नै काकाकाकीले ‘चिनेजानेको मान्छे । राम्रो कमाई हुन्छ’ भनेर प्रलोभन देखाएका थिए । घरमा ऋण थियो । म जेठी छोरी । भाइहरु थिए । पढाउन खान लगाउन दिन कठिन थियो । त्यहि दुःख सम्झेर केहि वर्ष दुःख गरेर आमा बाबुलाई राम्रोसँग पालनपोषण गरौंला, भाइबहिनीको शिक्षादिक्षा गरौंला भनेर आफन्तको लैलै मा लागेर भारत पुगेँ । तर, मलाई त कुनै कम्पनी नभएर वेश्यालयमा पो बेचिदिएका रहेछन् … ।’
केहीबेर रोक्किएर उनले जीवनको गह्रुंगो कथालाई अझै खोतल्न थालिन् । ‘मैले हार गुहार गरेँ । अहँ मेरोलागि कोहि कतैबाट सहयोग भएन । नेपाली विदेशी ग्राहकलाई बिन्ति बिसाएँ । कयौं दिन म भोकभोकै बसेँ । मैले त्यो वेश्या काम गर्न मानिनँ । तर त्यहाँ मर्नु र गर्नुको विकल्प केहि थिएन । कति पटक म बेहोस् भएछु । मलाई पानीमा ओैषधी दिएर पनि मरेको लासलाई बलत्कार गर्दै गएछन् । जब म होस्मा आउँथे, मलाई थाहा हुन्थ्यो हिँडडुल गर्न सक्दिँनथेँ ।
दुई महिनाजति पानीको भरमा बसेको छु । त्यसपछि तीन महिना आश मारेर अब जे हुनु भयो भनेर काममा लागिरहेकी थिएँ । राम्रै तलब दिने कुरा भएको थियो । तर, उनीहरुले पैसा पनि दिएनन् । मेरो महिनावारी रोकिएकोले मलाई त्यहाँबाट निकालियो । त्यो बेला मेरो सास मात्र अडिएको थियो । त्यहाँ मर्ने डरले मलाई निकाले । हो, मैले नर्कको जीवन जिएको छु सर …’
केहीबेर लामो श्वास तानेर पुनः जीवनलाई थिचिरहेको गह्रुंगो ढुंगा उठाएझैं अतित कोट्याउन थालिन् ।
‘म समाजबाट तिरस्कृत भएँ । अपहेलना गरे । फेरि पनि म घर छाड्न बाध्य भएँ । सबैको छिछि दुरदुर भएपछि मैले काम खोजेँ । मेरो पेटमा बच्चा थियो । मैले त्यसलाई जन्माउने कोसिस गरेँ । जन्मियो तर के गर्ने पाल्न गाह्रो थियो । म होटलमा काम खोज्न थालेँ । अब आमा बाबु दाईभाइ र समाजको तर्फबाट म मरिसकेको थिएँ । तर, मलाई बेच्ने काका छाती फुलाएर हिडिँरहेको थियो ।
त्यसको बदलाको लागि मैले छोरा हुर्काउनु थियो । होटलमा भाडा माझ्ने काम गरेँ ।
हेर्दा राम्री भएपछि सबै आउने गर्थे तर, मेरो बच्चा भएको कुरा होटल मालिक बाहेक अरुलाई थाहा थिएन ।
मलाई होटल मालिकले पनि छाडेन । मेरो बच्चा बिरामी भयो । झन् ठुलो संकट पर्‍यो । कुनै उपाय थिएन । सात आठ हजार तलब थियो तर छोरालाई तीन महिना हस्पिटल राख्नुपर्ने । दिनको पाँच हजार तिर्नुपर्ने भएकोले मैले होटल मालिकलाई बिन्ति चढाएँ । उसले पहिले म छु, जे जस्तो भएनी सहयोग गर्ने कुरा गर्‍यो ।
जब मेरो जवानीसँग सन्तुष्टि भएपछि व्यवहार परिवर्तन गर्‍यो । उल्टै धम्किदिन थाल्यो । मैले फेरि त्यहाँ पनि सुरक्षित नदेखेपछि अर्को होटलमा गएँ । त्यहाँ पनि म गएपछि होटल चल्यो । मुनाफामा गयो । ग्राहकको भीड लाग्ने गर्थ्यो ।
सुनेको थिएँ, पहिलेको मालिकको होटल सबै सुक्यो रे ! पछि उसले मलाई भेटेर तलब बढाउने कुरा गर्दै थियो । जुन बेला मेरो छोरा बिरामी थियो त्यो बेला मलाई हातपात गर्दै निकाल्यो । पछि म गईनँ । बेलाबेलामा धम्की दिइरह्यो ।
त्यहाँ पनि छोराको लागि म आफु बेचिएँ । मेरो भन्नु कोहि थिएन । मात्र मेरो जवानी । नत्र म जमानामा मरिसकेको हुन्थेँ । मेरो आकर्षणले होटल मज्जाले चल्यो ।
मालिकले मेरो जवानीमा गिद्धेनजर लगायो तर, मेरो छोराको लागि सहयोग गर्‍यो । काम दियो खान दियो । मैले छोराको उपचार राम्रोसँग गरेँ । होटल मालिकले विवाह नै गर्नेसम्मको प्रस्ताव गर्‍यो । तर, मैले मालिक्नी देखिसकेको थिएँ ।
उसले पनि पटकपटक मेरो जवानीसँग खेल्यो । सँगसँगै सहयोग पनि गर्‍यो । मेरो छोरा पढ्नको लागि चिनेको स्कुलमा कुरा गरिदियो । उसले मलाई अरु पनि सहयोग गर्‍यो । मलाई खाडी आउन पनि एक लाख बीस हजार होटल मालिकले नै हालिदिए ।
आज मेरो बाबु ठूलो भईसकेको छ । अब त्यहि बाबु हेर्नको लागि म खाडी आएको हुँ । होटल मालिकले नै हेरविचार गरेका छन् । मेरो काकाले मलाई कोठिमा बेचिदिए तर ति होटलमालिकले मेरो जवानी लुटे पनि म कहिल्यै काकाको दर्जामा राख्न सक्दिनँ । दुःखमा साथ दिएका छन् । अब गएर आफ्नो व्यवस्था गर्छु । यहाँ काम राम्रै पाएको छु । कमाई पनि राम्रै भएको छ । मेरो बाबा आमा दाईभाइको गुन होटल मालिकले लगाएका छन् । उनको ममाथि जे स्वार्थ भए पनि म राजी छु । उनको देन हो आज म केहि रकम कमाउन र बाबुबिनाको छोरा हुर्काउन सफल भएको छु । त्यसैले आज छुट्टी भएर मेरो छोराको लागि खर्च पठाउन आएको सर ।
‘तपाईलाई पनि म गनाउने दुर्गन्धित केटी लाग्यो होला है सर ?’
‘हैन त्यस्तो । कृपया यसरी नभन । तिमीलाई कुनै आपत पर्‍यो भने भन । सकेको सहयोग गर्छु ।’ मलाई के बोलौं के बोलौं भयो । म उनको कुराले भावविह्वाल भईसकेको थिएँ । मन थाम्न सकिरहेको थिईनँ यसो पछाडि हेरेँ । मिलन त्यहाँ थिएन । ऊ सायद कोठा फर्किसकेको थियो ।
मलाई याद आयो । ‘होस् गरेर जा, चपल खालास्’ भनेको । बरु चपलले हानेको भए पनि यति भाव विह्वल र विस्मात हुने थिएन । एउटा नेपाली चेलीको कथाले मलाई चप्पल हानेको भन्दा हजार गुना पीडा दियो । मैले उनको काकालाई यति श्राप दिएँ कि तत्काल लाग्ने भए ऊ मरिसकेको हुन्थ्यो होला !
यस्ता लाचारीहरुले गर्दा घर, समाज र राष्ट्र बिग्रिएको छ । समाजको हेर्ने आँखा पनि उस्तै छ । कहिल्यै किन कसरी भनेर सोध्न सक्दैनन् । सिधै नकरात्मक भावना प्रकट गर्छन् । आखिर एउटा चेलीको जीवनमा खेलवाड गर्ने टाढाको कोहि नभएर आफ्नै काका हुन्छ भने कसलाई विश्वास गर्ने ?
म अनायास आँसु बगाउन थालेछु । उनले मेरो आँसु पुछिरहेकी थिइन् । 

0 comments for " ~~म यसरी वेश्या भएँ एक नेपाली चेलीको दर्दनाक कथा (अवस्य पढ़नुनुस सबैलाई सचेत गराउनुहोस),,,!!!>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives