~~~केही समय अघि ठमेलमा एक छात्रको मृत्यु भयो । कारण थियो– ग्याङ फाइट । नशा प्रयोग गर्नु तथा एकै पटकमा धेरै गर्लफ्रेन्ड बनाउनु पनि ग्याङ फाइटका कारण हुन् भने केटीहरूमा फेसन, इगो र देखासिकीका कारणसमेत यस्ता घटना घट्न पुग्छन्। अनुशासनको कमी, कलेजको फितलो नीति–नियम तथा प्रेमिकाको चक्कर ग्याङ फाइटका मुख्य कारण हुन्।>>>>

Posted by Anonymous on | 0 comments


माघ २४, २०७३- युवावस्था संवेदनशीलका साथै जोस–जाँगरले भरिएको हुन्छ। यो उमेर अरूजस्तै हुने चाहना राख्ने, स–साना कुरामा तुरुन्तै खुसी र दु:खी हुने उमेर पनि हो। चढ्दो उमेरसँगै बढ्दो साहस र आकांक्षाले झांगिरहेका युवाहरूको शारीरिक तथा मानसिक विकास पनि राम्रोसँग भैसकेको हुँदैन। यस्तो उमेर समूहका युवामा ईख, ईष्र्या, द्वेष, प्रतिशोध साँध्ने तत्वले निकै ठूलो भूमिका खेल्छ। त्यसकै प्रतिफल उनी प्लस टु जेनरेसनका युवापुस्तामाझ परिचित शब्द हो— ग्याङ फाइट। कतिपय जसो कलेजका विद्यार्थीहरूबीच यो सामान्य कुरा भैसकेको छ। उपत्यकालगायत मोफसलका सहरी कलेजमा पनि ग्याङ फाइट अब नौलो रहेन। किन हुन्छ त ग्याङ फाइट? हिमालयन कलेजमा १२ कक्षामा अध्ययनरत नवीन गिरी भन्छन्– अनुशासनको कमी, कलेजको फितलो नीति–नियम तथा प्रेमिकाको चक्कर ग्याङ फाइटका मुख्य कारण हुन्। अर्को कारक भनेको चुरोट पिउने जस्ता कुलतमा फसेकाहरूको छुट्टै समूह हुन्छ भने पढन्तेहरूको छुट्टै, यिनीहरूबीच पनि विभिन्न कुरामा मनमुटाव हुँदै अन्तत: ग्याङ फाइटसम्म पुगेको देखिएको छ। गिरीका अनुसार प्राय: ग्याङ फाइट एउटै युवतीलाई धेरै युवकले मन पराउँदा हुन्छ। निस्ट कलेजकी छात्रा मोनिका थापामगर इगो र एटिट्युटका कारण ग्याङ फाइटका घटना घट्ने बताउँछिन्। १२ कक्षा अध्ययनरत मोनिका भन्छिन्– कोभन्दा को कम र आफूलाई हिरो सावित गर्न केटाहरू ग्याङ फाइटमा संलग्न हुन्छन् भने केटीहरू एकआपसमा इगो नै भए पनि बरु बोल्दैनन्, कोल्ड वारको स्थितिमा न्युट्रल बस्छन्। ग्याङ फाइट हुनुका पछाडि किशोर–किशोरीमा पूर्ण रूपमा मानसिक विकास नहुनु, स–साना कुरामा इगो पाल्नु वा रिसाउनु, आपसमा ईष्र्या सिर्जना भै त्यसले क्रमिक रूपमा ठूलो रूप लिनु आदि कारण हुन्छन्। थापाले भनिन्– केटीहरूमा भने आफूले मन पराएको केटालाई अर्की कुनै केटीले मन पराएकी छ भने, आफूभन्दा राम्री र ट्यालेन्ट केटी छ भने वा फेसनका कारणले कोल्ड वार चल्छ। रेन्बो इन्टरनेसनल कलेजमा अध्ययनरत मुगुका छात्रा महेन्द्र बुढाका अनुसार नयाँ साथी–संगतका कारण कुलतमा फस्ने तथा स–साना कुरामा पनि दादागिरी देखाउँदै हिँड्ने प्रवृत्तिले कलेजमा ग्याङ फाइटका घटना घट्छन्। नशा प्रयोग गर्नु तथा एकै पटकमा धेरै गर्लफ्रेन्ड बनाउनु पनि ग्याङ फाइटका कारण हुन् भने केटीहरूमा फेसन, इगो र देखासिकीका कारणसमेत यस्ता घटना घट्न पुग्छन्। महेन्द्र भन्छन्– गाउँबाट सहर पसेपछि उनीहरू अभिभावकविहीन हुन्छन्– उनीहरूलाई निर्देश गर्ने कोही नभएपछि हामीले जे गरे पनि कसले के गर्छ र? भन्ने जस्तो भावनाको विकास हुन थाल्छ। उनीहरू कुलतमा फस्न सक्छन् भने प्रेमिका फेर्दै हिँड्न थाल्छन्। आफूले मन पराएकी केटी अरूले पनि मन पराउँछ भन्ने थाहा पाएपछि ग्याङ बटुलेर झै–झगडा गर्छन्। अर्को कुरा डन, राजनैतिक नेता तथा त्यस्तै ब्याक पावर सपोर्ट भएकाहरू पनि यत्तिकै निहुँ खोज्दै दादागिरी देखाउँछन् र ग्याङ फाइट हुन्छ। प्लस टु अध्ययनरत सरु थापा ग्याङ फाइट हुनुका पछाडि हिरोपन्थी प्रवृत्ति, एटिट्युट, लभ अफेयर्स तथा नशामा फस्नु आदिलाई जिम्मेवार ठहर्‍याउँछिन्। आफूभन्दा ट्यालेन्ट कोही छ भने त्यसलाई तह लगाउनुपर्छ भन्ने भावनाको विकास हुने बताउँदै उनले भनिन्– कति त नयाँ–नयाँ चिज ट्राई गरिहालौं भन्ने उत्सुकताले गर्दा पनि यस्ता क्रियाकलापमा फस्छन्। युवतीहरूमा भने इगो प्रोब्लम, सो–अफ, ट्यालेन्टलाई बलिया समूहले हेप्ने कारणले पनि कोल्ड वार चल्ने र पछाडि कुरा काट्ने जस्ता समस्या निम्तिन्छन्। रेन्बो इन्टरनेसनलमा होटल म्यानेजमेन्टकी छात्रा सरुसँग पढन्तेहरूलाई हिरोइज्मले पेल्ने गरेको अनुभव छ। १२ कक्षाकी छात्रा सुस्मिता चौलागाईंले गाउँबाट आउने सोझा–साझालाई आफूलाई हिरो मान्ने सहरिया विद्यार्थीहरूले बढी पेल्ने घटनाहरू देखेकी छिन्। सुस्मिता भन्छिन्– उनीहरूमा हामीले जे गरे पनि हुन्छ भन्ने सोच छ, त्यसैले गाउँबाट आएकाहरूलाई पाखे भन्ने, होच्याउने, जिस्क्याउने आदि काम गर्छन्। ऊ पनि कति दिन सहेर बस्छ र? आफूमाथि कुनै ठूलाबडाको आडमा छ भने एक न एक दिन बोलाएर कुट्छन्–कुटाउँछन्। अर्को कारण सो–अफ गर्नेहरू तथा पढ्नेलाई कपी–पेपर–बेञ्जका साथ ब्ल्याक बोर्डमा अनेक थरी लेखिदिएर हतोत्साही गर्छन् र त्यही ग्याङ फाइटको कारण बन्छ। सुस्मितालाई जेनरेसन ग्याप, ल्याक अफ नलेज तथा अनुशासनका कारण पनि ग्याङ फाइट हुन्छ भन्ने लाग्छ। ग्याङ फाइटले निम्त्याउने समस्याका सम्बन्धमा नवीनले भने– मृत्युसम्म हुन सक्छ। त्यसका अतिरिक्त भ्रातृत्वमा अड्चन, पढाइमा बाधा, मनोविषाद, पारिवारिक प्रतिष्ठामा आँच आउने जस्ता समस्या निम्तिन सक्छन्। मोनिकाका अनुसार यसले सम्बन्ध बिग्रिने, साथीत्व तोडिने, अपांग हुने सम्भावनाका साथै मृत्युसम्म हुने समस्या ल्याउँछ। सरुले थपिन्– परिवारमा नराम्रो छाप बस्छ। अभिभावक तथा दाजुभाइ–दिदीबहिनीलाई पनि त्यसको नकारात्मक असर पर्छ भने पढाइ पनि बिग्रन्छ। महेन्द्र बूढाले ग्याङ फाइटका कारण समाजमा कुदृष्टिले हेरिने, राम्रा व्यक्तिसँग तर्क गर्ने क्षमता नष्ट हुने आदि समस्या देखा पर्ने बताए। सुस्मिता चौलागाईंलाई ग्याङ फाइटका कारण भविष्य बिग्रने, पैसाको नाश, अपांग–अशक्त हुने सम्भावनाका साथै सहपाठी एवं साथीभाइसँग सधैंका लागि सम्बन्ध बिग्रने जस्ता समस्या आइपर्छन् भन्ने लाग्छ। यसलाई न्यूनीकरण गर्ने उपाय बताउँदै सुस्मिताले भनिन्– अभिभावकले उनीहरूसँग समय बिताउनुपर्छ, उनीहरूका कुरा सुनिदिनुपर्छ, उनीहरूलाई चेतनामूलक तालिममा सहभागी गराउनुपर्छ भने कलेजको नीति–नियम बलियो हुनुपर्छ, शिक्षकहरूले यस्ता कुरालाई लापरबाही गरी हल्का तरिकाले लिनु हुँदैन। जनचेतनामूलक कार्यक्रम सञ्चालनका साथ आफू स्वयं सजग र सचेत हुनुपर्ने बताउँदै सरूले भनिन्– ग्याङ फाइटजस्ता कुरालाई न्यूनीकरण गर्न शिक्षक एवं अभिभावकले कुशल गाइडेन्स गर्नु आवश्यक छ। महेन्द्रका अनुसार व्यवहारिक शिक्षा, यसबाट निम्तिने समस्यासम्बन्धी तालिम आदिका साथै सञ्चारमाध्यमले खेल्ने भूमिकाबाट यस्ता समस्या घटाउन सकिन्छ। निस्टकी मोनिका भन्छिन्– यो अत्यन्तै संवेदनशील उमेर भएकाले सही दिशा–निर्देश गर्ने अविभावक चाहिन्छ भने संवाद र सञ्चारले यस्ता समस्यामा कमी ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। सिन्धुपाल्चोकका नवीन गिरीलाई अभिभावक जागरूक भए यी समस्या घट्दै जान्छन् भन्ने लाग्छ। गिरी भन्छन्– कलेजमा नीति–नियम बलियो पार्ने, जनचेतना जगाउने, कलेजमा पार्टीका आडमा विभिन्न भ्रातृ संगठन निर्माण गर्ने, कलेज बन्द गरिदिने, अनावश्यक प्रभाव पार्ने फेसबुक पेजहरू ब्यान्ड गरिदिने हो भने धेरै हदसम्म यो समस्या कम हँुदै जान्छ। ग्याङ फाइटको कारण लभ अफेयर्स, इगो तथा एटिट्युट प्रोब्लम, ब्याक फोर्स, अनुशासनको कमी, फेसबुक–ट्विटरलगायत सामाजिक सञ्जाल, कुलत, हिरोपन्थी सोच, अविकसित मानसिक अवस्था। समाधान अनुशासित जीवन, कुशल अभिभाकत्व, चेतनामूलक कार्यक्रममा युवाहरूको सहभागिता, सञ्चारमाध्यमको जागरूकता आदि। प्रकाशित: माघ २४, २०७३

0 comments for " ~~~केही समय अघि ठमेलमा एक छात्रको मृत्यु भयो । कारण थियो– ग्याङ फाइट । नशा प्रयोग गर्नु तथा एकै पटकमा धेरै गर्लफ्रेन्ड बनाउनु पनि ग्याङ फाइटका कारण हुन् भने केटीहरूमा फेसन, इगो र देखासिकीका कारणसमेत यस्ता घटना घट्न पुग्छन्। अनुशासनको कमी, कलेजको फितलो नीति–नियम तथा प्रेमिकाको चक्कर ग्याङ फाइटका मुख्य कारण हुन्।>>>> "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives