____(आफ्नै श्रीमानले मट्टितेल खन्याएर जलाएको उनी भनिरहेकी थिईन ‘म बाँच्न चाहन्छु दिदी,,==>>>
Posted by Anonymous on | 0 comments
रूमीलाई थाहा छ, त्यो बिरामी केही बेरमै मर्दैछ। जसलाई श्रीमानले मट्टितेल खन्याएर जलाएको थियो। जसलाई भर्खरै रुमीले अस्पतालमा छटपटाइरहेको देखेकी थिइन्। बिरामीको शरीर डढेर कालै भइसकेको थियो। ह्वास्स गन्ध आइरहेको थियो। रुमी स्नातकोत्तरको परीक्षा दिँदै थिइन्। वीर अस्पतालमै बिरामी कुर्दै उनी परीक्षाको तयारी गर्दै थिइन्। भेट्न आउनेलाई बिरामीको घाउ देखाउँदैमा उनको दिन जान्थ्यो। जलेको घाउबाट पानी रसाइरहेको थियो। कपडा हटाउँदा पनि ह्वास्स गन्ध कोठाभरि फैलिन्थ्यो। रुमीलाई लाग्यो, त्यो गन्ध उनको शरीरभरि सल्किँदैछ। उनी घर आएर नुहाइन्। अस्पताल जाँदा लगाएको कपडा फेरिन्। तै गन्ध हटेन। सर्वांग ‘पर्फ्युम’ छरिन्। तै उनलाई लाग्यो, उनको पूरै शरीर डुङडुङ गन्हाउँदैछ। त्यहीबेला श्रीमानले रेस्टुरेन्टमा ‘डिनर’ खान जाने अनुरोध गरे। उनको दिमागबाट बिरामीको तस्बिर हटेको थिएन। कानमा घरिघरि बिरामीको चित्कार गुञ्जिँदै थियो, ‘म बाँच्न चाहन्छु दिदी!’ रेस्टुरेन्टमा डिनर खाँदाखाँदै अफिसबाट फोन आयो– ‘त्यो बिरामी एक्सपायर भयो।’ रुमीलाई रिङटा चलेजस्तै भयो। भनिन्, ‘हेर न! बिरामी त एक्सपायर भएछ।’ श्रीमान केही बोलेनन्। ‘जसले भोगेको हुन्छ, उसलाई पो बिझाउँछ त! मेरो पीडा बुझिदिएन भनेर गुनासो गर्नुको के अर्थ?’ जलेका वा जलाइएका बिरामीको उद्धार, उपचार र पुनर्स्थापनामा संलग्न रुमी राजभण्डारीले केही समयअघिको घटना सम्झिइन्। ‘अस्पतालबाट निस्केँ भन्दैमा बिरामीको पीडालाई उतै थन्काएर घर पस्न सकिन्न रहेछ,’ २९ वर्षीया रुमीले भनिन्, ‘उनीहरूलाई जतिबेला पनि मेरो खाँचो पर्नसक्छ, म तयार रहनुपर्छ र रहन्छु पनि।’ गत बिहीबार पनि उनी तयारी अवस्थामै थिइन्। टिचिङ अस्पतालको आइसियूमा नेपालगन्जकी सुनीता खटिकको उपचार भइरहेको थियो। उनको शरीरको आधाभन्दा बढी हिस्सा जलेको छ। सास फेर्न अक्सिनजको पाइपले घाँटी छेडिएको छ। सुनीतालाई आफ्नै श्रीमानले बलिरहेको टुकी झोसेर आगो सल्काइदिएका थिए। तीन वर्षअघि नेपालगन्ज सीमापारिबाट बिहे गरेर बाँकेको खड्केनपुर्वा आइपुगेकी हुन्, सुनीता। उनका पति राजेन्द्र रक्सीका अम्मली थिए। रक्सीको मातमा श्रीमतीलाई तथानाम भन्नु, पर–पुरुषसँग नाम जोडेर अश्लिल गाली गर्नु, कुट्नु उनको दैनिकी थियो। यसपटक त उनले हात मात्र छोडेनन्, बलिरहेको टुकीको मट्टितेल टाउकोमै खन्याइदिए। जलिरहेको सलेदोको लप्का कपालमा सल्कियो। सिउँदो हुँदै तालु, अनुहार, छाती, दाहिने हात, तिघ्रासम्म जल्यो। प्रहरीको भनाइमा सुनीता चिच्याउन थालेपछि राजेन्द्र कुलेलम ठोके। उनको चिच्चाहट सुनेर छिमेकीहरू आइपुगे। आगो निभाए। केही बेरमा प्रहरी पुग्यो। सासु, नन्दज्वाइँ र प्रहरीले सुनीतालाई नेपालगन्ज अस्पताल लगे। शरीरको आधा भाग जलेको थियो। नेपालगन्ज अस्पतालले काठमाडौं रेफर गर्यो। सुनीताको परिवारसँग काठमाडौंसम्म लैजाने खर्च थिएन। न उनीहरूले काठमाडौंमा कसैलाई चिनेकै थिए। यहीँ जोडिन आइपुगे, रुमी। दुर्घटना, घरेलु हिंसा तथा आत्महत्या प्रयासबाट जलेका बिरामीलाई अस्पताल पुर्याउने, अतिविपन्नका लागि अस्पताल तथा सरकारबाट सहयोग दिलाउने लगायत सेवा गर्दै आएको ‘बर्न भायोलेन्स सर्भाइभर्स’ नामको एउटा संस्था छ। संस्थाकी कार्यक्रम संयोजक उनै रुमी हुन्। रुमीले यो संस्थामा आबद्ध भएर जलेका/जलाइएका बिरामीको सेवामा खटिएको आठ वर्ष भयो। त्यसअघि उनी एचआइभी पीडितहरूको क्षेत्रमा काम गर्थिन्। उनका अनुसार जलेका वा जलाइएका बिरामीलाई अस्पताल पुर्याएर मात्र स्वयंसेवकको काम सकिँदैन। स्वयंसेवकको काम त अस्पताल ल्याएपछि बल्ल सुरु हुन्छ। सबै नर्सले भतभती पोलेर छटपटिरहेका बिरामीलाई सान्त्वना दिन भ्याउँदैनन्। यस्ता सबै घटना प्रहरी अनुसन्धानभित्र पर्छन्। अनुसन्धान गर्दा प्रहरीको केरकार चर्को हुन्छ। जलाइएका बिरामी छन् भने त क्षण–क्षणमा आइरहने पत्रकारले अनेक प्रश्न सोध्दा बिरामीलाई झनै छटपटी हुन्छ। पुरानो कुरा सम्झिनै नचाहने बिरामीलाई बारम्बार उही दोहोर्याइरहनु साँच्चिकै पीडादायक हुने रुमीको अनुभव छ। यस्तो अवस्थामा बिरामीको हिम्मत भर्ने, दिक्क नलाग्ने गरी घटनाबारे सोध्ने, जलेका बिरामीलाई कुन समयमा के–कस्तो खुवाउने/पियाउने ख्याल गर्नुपर्छ। यस्तो गर्नेलाई ‘काउन्सेलर’ भनिन्छ। हुन त संस्थामा व्यावसायिक काउन्सेलर अरू नै थिए। रुमी कार्यक्रम संयोजक भए पनि हरेक बिरामीलाई हिम्मत भर्न अस्पताल पुग्थिन्। आफन्तले झैं के खाने सोध्थिन्। जलेका बिरामीका लागि त सुत्नु पनि सकसको कुरा हो। ओल्टाइपल्टाइ गरेर बेला–बेला घाउ सफा गरिरहनुपर्छ। रुमी त्यसै गर्छिन्। जलाइएका घटनामा धेरैजसो बिरामी विपन्न परिवारका हुन्छन्। कतिका आफन्त नै सम्पर्कमा हुँदैनन्। उनीहरूले उपचारकै लागि निकै झन्झट व्यहोर्नुपर्ने हुन्छ। यस्तो बेला रुमी आफ्नै संस्था, अस्पताल या सरकारी निकायबाट उपचारको सहुलियत मिलाउने काम गर्छिन्। आइजाइ गरिरहनुपर्ने भएपछि रुमीको मनबाट ‘अस्पतालको भूत’ त हरायो, तर तिनै बिरामी मनमा यसरी गड्थे, जहाँ गए पनि झल्को आइरहन्थ्यो। बिरामीको शरीरबाट निस्कनेजस्तो गन्ध आफ्नै शरीर या यतैतिरबाट निस्किरहेजस्तो लाग्थ्यो। छटपटीसहतिको चित्कार बारम्बार कानमा ठोक्किरहन्थे, ‘म बाँच्न चाहन्छु दिदी।’ ‘कतिपय अवस्थामा बिरामी या आफन्तले प्रहरीलाई सही सूचना दिँदैनन्,’ उनी भन्छिन्, ‘हाम्रो काम भनेको उनीहरूमा हिम्मत भर्नु, आफन्तभन्दा नजिकको विश्वासपात्र बनेर सत्यतथ्य निकाल्नु हो। त्यसका लागि महिनौं लाग्न सक्छ। यस क्रममा बिरामीसँग भावनात्मक सम्बन्ध गाँसिइसकेको हुन्छ, जता गए पनि उनीहरूले पछ्याउन छाड्दैनन्। बिरामीको मृत्यु भयो भन्ने सुन्दा त कानै टिन्न बज्छ। जलाइएका बिरामी छन् भने झनै मन दुख्छ।’ बिहे हुनुअघि नै काम थालेकी उनले बिहेपछि कुरा बुझ्ने सासू पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन्। चासो दिएर सासूले आफ्नो व्यथा सुनिदिँदा उनलाई गह्रौं भारी बिसाएझैं हुन्छ। साथीहरूसँग पनि कुरा साट्छिन्। त्यसले झनै हलुंगो बनाउँछ। तै पनि मन निकै विचलित भएको बेला बिरामीलाई परामर्श दिँदै आएका व्यावसायिक परामर्शदातासँग सोध्ने गरेकी छन्। मानसिक रूपमा विचलित भएको एक समय उनी अमेरिकी ग्रिनकार्ड पाइसकेका श्रीमानसँग अमेरिकाधरि पुगेकी थिइन्। तर, उनलाई अमेरिकी जीवन झनै सकसको लाग्यो। ‘बानी परिसकेछ,’ उनले सुनाइन्, ‘अमेरिकामा अस्पताल, गन्ध, बिरामीको छटपटी थिएन, तर मभित्र झन् छटपटी बढेछ। म मनबाट सबै भुल्न चाहन्थेँ, तर मलाई मुटु निकालेर बाहिर ल्याउन खोजेजस्तो गाह्रो भयो।’ उनले श्रीमानसँग भनिन्, ‘म यहाँ बस्न सक्दिनँ।’ सुरुमा त श्रीमान मानेनन्। आखिर दुवै देश फर्किने सहमतिमा पुगे। रुमीले एउटा सर्त तेर्स्याइन्, ‘नेपाल गएपछि सोचेजस्तो भएन भने तिमीले मलाई दोष दिन पाउँदैनौ नि।’ उनी राजी भए। नेपाल फर्केपछि श्रीमान व्यवसायतिर लागे। रुमी पुरानै काममा फर्किइन्। रुमीको अनुमानमा उनले करिब ६ दर्जन जलेका बिरामी भेटेकी छन्। कतिलाई सहुलियत, कतिलाई पूरै उपचार खर्च, कतिको खानपान र बासको व्यवस्था मिलाएकी छन्। तीमध्ये धेरै महिला छन्। हुन त घरेलु हिंसाका थोरै मात्र मुद्दा प्रहरीमा दर्ता हुन्छ। त्यसमा रुमी प्रहरीको मात्र कमजोरी देख्दिनन्। उनको अनुभवले भन्छ, सबैभन्दा ठूलो दोष सामाजिक संरचनामै छ। ‘महिलालाई कुँज्याइएको छ, बोल्ने अधिकारसम्म दिइएको छैन,’ उनले भनिन्, ‘आफैंलाई जलाउँदा पनि उनीहरू बोल्न सक्दैनन्।’ रुमीले त्यस्ता थुप्रै जलाइएका महिला भेटेकी छन्, जसको प्रहरीमा उजुरी परेको छैन। ‘कुनै महिलालाई श्रीमान या आफन्तले आगो झोसिदियो, देख्ने धेरै मान्छे छैनन् भने महिलालाई दबाब दिइन्छ, जलेको भन्नु नत्र तेरो उपचार गराउँदैनौं,’ उनी भन्छिन्, ‘यसपछि महिलाले बोल्ने आँट गर्दिनन्। नेपालको प्रशासनिक प्रक्रिया निकै झन्झटिलो छ। प्रहरीमा उजुरी पर्दा पीडकले समेत निकै झमेला व्यहोर्नुपर्छ। परिवार या आफन्तबाहेकलाई जलाइएको थाहा छैन भने महिला डरले आफैं जलेको भन्न बाध्य हुन्छन्।’ तराईतिरको घटना सुन्दा धेरै महिला दाइजोका कारण जलाइका हुन्छन्। तर, रुमीको भनाइमा दाइजो मात्र ठूलो कारण होइन। ‘कति महिलाले आफैंलाई जलाएका हुन्छन्,’ उनी थप्छिन्, ‘यसो हुनुमा पनि घरेलु हिंसाकै कारण छ। बारम्बारको यातना खप्न नसकेर उनीहरु आगो लगाएर आत्महत्या गर्न खोजेका हुन्छन्। श्रीमानले रक्सी खाएर जलाएका उदाहरण पनि थुप्रै छन्। मैले त्यस्ता दिदीबहिनी भेटेको छु, जसले अन्तरजातीय या भागेर बिहे गरेका हुन्छन्। कोही पुरुषले फकाएर दोस्रो बिहे गरेको हुन्छ। त्यस्तो अवस्थामा ती दम्पती आफ्नो समुदायबाट टाढा रहन्छ। उनीहरूको बिहे दर्ता लगायत कागजी प्रक्रिया नै पूरा भएको हुँदैन। कतिको त नागरिकता नै बनेको छैन। झगडा भएपछि श्रीमानले आगो लगाइदिन्छ। कि फरार हुन्छ, कि धम्की दिन थाल्छ। मरिन्छ कि बाँचिन्छ ठेगान नभएको महिला त्यस्तो अवस्थामा कसरी बोल्न सक्छे?’ उनी त महिलालाई हुर्काइने तरिकामै खोट देख्छिन्। र, आफ्नै उदाहरण दिएर बुझाउन थाल्छिन्। आर्थिक हैसियतले सक्षम र शिक्षित परिवारमा हुर्किएकी उनले सानो छँदा ख्याल गरेको कुरा हो, उनलाई बिहान चाँडै स्कुल जानुपर्थ्यो। उनका दाइ ढिलासम्म सुत्थे। आमा भन्थिन्, ‘दाइलाई चिया पकाएर राखेर मात्र स्कुल जानु।’ पछि बिहे गर्ने बेला समाज र परिवारबाटै सुनिन्, ‘लोग्नेको वचन काट्नुहुँदैन। मुखमुखै नलाग्नू।’ उनी प्रश्न गर्छिन्, ‘मेरोजस्तो शिक्षित भनिने परिवारमा त महिलाले यस्तो सुन्नुपर्छ भने जो १०/१२ वर्षमै बिहे गर्छन्, उनीहरूलाई के–के पढाइएको होला? हामी पढे–लेखेकाले त बोल्न पाउनु महिलाको अधिकार हो भन्दा यहाँ ‘फेमिनिस्ट भइस्, एक्टिभिस्ट भइस्’ भन्छन्। ती महिलालाई त लोग्नेले झापड हान्नु पनि माया गर्नु हो भनेर सिकाइएको हुन्छ। यसरी माया पाउँछन्, माया पाउँदा पाउँदै आगो झोसिन्छन्। अन्याय परेको हो भन्ने जान्दाजान्दै बोल्नेसम्म छुट हुँदैन। कतिपय अवस्थामा कस्तो भएको छ भने पहिला महिलाले आफूलाई जलाइएको हो भनेर भनेपछि पनि दबाबमा बयान फेर्छन्। त्यस्तो घटनामा चाहिँ नेताहरूको सोर्सफोर्स देखिन्छ।’ यो त कम साक्षर भएको क्षेत्रको कुरा भयो। उनले त काठमाडौंभित्र पढे–लेखेकाले नै आफ्नी श्रीमतीलाई आगो झोसेको भेटेकी छन्। झन्डै आठ वर्षे अनुभवमा उनले आत्महत्या प्रयास गरेका त्यस्ता बिरामी पनि भेटिन् जो बालक हुन्। बाबुआमाको बारम्बारको झगडाका कारण ११ वर्षे ती बालकले आफैंलाई आगो लगाएका थिए। दिदी–बहिनीको सामान्य झगडामा पनि बहिनीले आफैंलाई आगो लगाएको घटना उनले देखिन्। यसो हुनुमा टेलिभिजनको ठूलो प्रभाव रहेछ। ती बालिकाले भनेकी थिइन्, ‘सिआइडी हेरेर सिकेको।’ प्रहरीले थाहा नपाउने यस्ता घटना ‘काउन्सेलिङ’ का माध्यमबाट उनको सामु आएको हो। उनीहरूको ‘काउन्सेलिङ’ छोटो समयको हुँदैन। तारन्तार बिरामीसँग नजिक भइरहने र उनीहरूसँग आफन्तजस्तै व्यवहार गर्दा कतिपय महिलाले कुरा खोल्छन्। ‘कतिले त वर्षौंपछि मात्र भन्छन्। उनीहरू श्रीमानले अन्याय गरेको जान्दाजान्दै जेल नपरोस् भन्ने कामना गर्छन्। माइती पक्षले आफ्नी छोरी मर्कामा परेकी छे भन्ने थाहा पाउँदा पनि घरचाहिँ नछोडोस् भन्ने सोच्छन्। जसलाई माइतीपक्षको बलियो साथ हुन्छ, उनीहरू निडर भएर बोल्छन्। कसैको सहयोग नपाउँदा आफू त्यही घर फर्किनुपर्छ, बालबच्चा हुर्काउन एक्लैले नसक्ने ठानेपछि सत्यतथ्य खोल्न चाहँदैनन्,’ रुमीले भनिन्। अहिले उनको साथमा केही महिला छन्, जसले जलाइएपछि श्रीमानको घर नफर्किने साहस जुटाए। उनीहरू मैनबत्ती बनाउँछन्, संस्थाले बेचिदिन्छ। केहीले छुट्टै डेरा लिएर आफ्नै बलबुतामा सन्तानलाई पढाइरहेका छन्। कोही संस्थाको आश्रयमा छन्। कोही सन्तानको सुविधाका लागि बिहे दर्ता, नागरिकताका लागि लडाइँ लडिरहेका छन्। जलाइएका होउन् या दुर्घटनाका कारण जलेका, महिनामा एक–दुई पटक संस्थामा सबै महिला भेला हुन्छन्। दुःखसुख साट्छन्। संस्थाले चाडपर्वमा कार्यक्रम राख्छ, सबै महिला भेला भएर नाचगान गर्छन्। उस्तै दुःख भोगेका महिला भेला हुँदा उनीहरुको अनुहारमा खुसी देख्छिन्। रुमीलाई केहीबेर हलुका महसुस हुन्छ। जब सबै आ–आफ्नो वासतिर लाग्छन्, रुमीको मनमा भिन्नै हलचल मच्चिन थाल्छ। ‘जल्दाको पीडा त छँदैछ,’ उनी भन्छिन्, ‘जलिसकेपछि पनि महिलाको पीडा सानो हुँदैन। पानी चलाइरहन, गह्रौं काम गर्नुहुँदैन। जलेको शरीर लिएर हिँड्नु झनै पीडादायक हुन्छ। एक जना दिदी सुनाउनुहुन्थ्यो, बिहान–बेलुका कुकुर डोहोर्याउँदै हिँड्दा देख्नेहरू भन्दा रहेछन्, कुकुर राम्रो, मान्छे भूतजस्तो। कतिले यतिसम्म भनेछन्, हाम्रो बच्चा तर्से, यतातिर नआउ।’ ‘त्यस्ता महिला गर्मीमा पनि पूरै शरीर ढाकेर हिँड्छन्। जब सबै उस्तै दिदीबहिनी भेट हुन्छन्, छोपेका सबै कपडा फुकाल्छन् र गफ गर्छन्। त्यतिबेला अनुहार हेर्दा लाग्छ, उनीहरूले संसार बिर्सिएका छन्। जब छुट्टिने बेला हुन्छ, एक्कासि अनुहारको रङ नै बदलिन्छ। दुर्घटनाबाट जलेका बिरामी पनि घर फर्किएपछि झनै हिंसामा पर्छन्। श्रीमानले बारम्बार कुरुप भन्दै गाली गर्छन्। अर्की श्रीमती ल्याउँछु भन्दा रहेछन्। कतिका श्रीमानले त दोस्रो बिहे गरिसकेका छन्।’ यस्तो सुन्दा रुमी आफूलाई त्यस्ता महिलासँग तुलना गर्न पुग्छिन्। उनीहरुको तुलनामा आफूलाई भाग्यमानी ठाने पनि मन एकतमासको हुन्छ। हुन त अहिले उनलाई बानी परिसकेको छ। आफैंलाई सम्हाल्न सक्ने भइसकेकी छन्। तर पनि उनको शरीरमा बेलाबेला बर्न वार्डको गन्ध ह्वास्स आउँछ। दिमागमा पोलेका दागहरुको चित्र झल्याक–झुलुक आइरहन्छन्। सधैं अल्झेर बस्ने कुरा त भएन। अहिलेसम्मका अनुभवलाई ऊर्जा मानेर नयाँ काम थाल्दैछिन्। उनको नयाँ कामले पोलेका बिरामीको मात्र होइन, त्यस्ता बिरामीको सन्तानको पनि हेरविचार गर्नेछ।

You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " ____(आफ्नै श्रीमानले मट्टितेल खन्याएर जलाएको उनी भनिरहेकी थिईन ‘म बाँच्न चाहन्छु दिदी,,==>>> "
Leave a reply