-गर्भ बसेछ भने लडाई लड्छु, तँ सँग बिहे त गर्दै गर्दिन'
Posted by News NP on | 0 comments
सहरमा पूजाको चिठीको चर्चा चुलियो। लोकप्रिय नरहरि आचार्य कृपालु हुनुभयो। जनयुद्धको नाममा रेटिँदा कहालिँदै मरेका अनि तीनको शोकमा भक्कानिदै आँशु झारेका आफन्तहरु। यस्ता पीडाले नछुने बाबुराम भट्टराईको मन पनि भक्कानियो। धन्यवाद पूजा।

मैले भने फेरि एकपटक चार वर्ष अगाडि बाजुराको सदरमुकाम मार्तडीका झलकहरु सम्झिएँ। चिठी लेख्न पनि नजानेका पूजा र बलरामहरु न्यायको लागि महिनौं सदरमुकाम बसेको। न्यायधीश बिनाको रित्तो अदालत। ६ महिनाको बसाइमा मैले न्याधीशको मुख पनि देखिनँ।
मुद्दाको सुनुवाई लिन वा दर्ता गर्न गाँउबाट आएका मान्छे होटलमा बस्थे। न्याधीशको बाटो हेर्दा हेर्दै पैसा सकिन्थ्यो। अनि गाँउ फर्कन्थे। बलात्कार जस्तो अपराधको मोलमोलाइ हुन्थ्यो। अनि केही रकममा कुरा मिल्थ्यो।
बाजुरा ब्रम्हतोला गाविस, वडा नं १ मा एउटा घटना घट्यो। आफन्तसँग जात्रा हेर्न गएकी सत्र वर्षकी किशोरीलाई ६ जना केटाहरुले अपहरण गरेर लेकमा पुर्याए। अनि जबरजस्ती एउटा केटासँग बिहे गरिदिए। जात्रामा केटीलाई तान्ने भनिदो रहेछ यस्तो कामलाई। केटी मन पराएको केटाले अरुको सहयोगमा केटीलाई जबरजस्ती तान्ने चलन। कति त मिलजुलमा पनि हुँदो रहेछ। यो घटना भने जबरजस्ती थियो। सो घटनामा केटी पक्षका केही मानिस घाइतेसमेत भएका थिए।
घटनाको केहि दिनमा प्रहरी चौकीमा केटा पक्ष र केटी पक्षको मानिसहरु जम्मा भए। चौरमा बसेर बहस भयो दुई पक्षको। बयानका क्रममा केटीले भनीन्,‘मलाई लेक लेक घुमाए। जबरजस्ती बिहा गरिदिए। मैले बिहा नस्विकारेपछि केटाले भन्यो ‘तँलाई म अब बलात्कार गर्छु। अनि गाँउमा कसरी मुख देखाँउछेस?’ उनले थप भनिन्, ‘ मैले यो केटालाई भनेकी छु गर्भ बसेछ भने पनि त्यही गर्भ लिएर लड्छु। तर, तँ सँग बस्दिन।’
किशोरीको यस्तो बयानपछि यो घटना पैसामा मिल्दैन भन्ने थियो। कुरा फेरिएला भनेर मैले सबै बहसको भिडियो रेकर्ड पनि गरें। जुन आजसम्म सुरक्षित छ। एकछिनमा कुनातिर गाँईगुँई चल्यो। खास खुस कुरा हुन थाल्यो सत्तरी हजारमा मिल्ने रे। हामी केही साथी भाई मिलेर अडान लियौं। बलात्कार जस्तो अपराध पैसामा मिल्न हुन्न। यसो भयो भने मानब बेचबिखन हुन्छ भन्यौ। घरझगडा मिलाउने नियत त राम्रो पनि मानिएला। त्यो कुनै घरेलु झगडा थिएन। निकै चर्को अडान लिएपछि अपराधिलाई थुन्ने कुरा भयो।
एकछिन अगाडि कड्की कड्की अपहरकारीलाई प्रश्न सोधेका स्थानीय नेता नै यो घटना मिलाउन लागि परेका थिए। यो मात्र एउटा प्रतिनिधि घटना थियो। अरु कैयौं यस्ता प्रकृतिका घटना आँखाले देखेर आएँ।
एकदिन दिन द्वन्द्व पीडित एक महिलाको आवाजलाई रेडियोमा प्रमुख समाचार बनायौं। पैतालिस मिनेट कुर्लेका कुनै एक पार्टीका शभापतिको उस्थितमा मात्र भन्यौ। नेताज्यूले धम्कि पढाए। ‘को हो त्यो प्रमुख अतिथिलाई बेवास्ता गर्दै एउटा महिलाको समाचार पहिला हाल्ने? रेडियोको टावर ढालिदिन्छु।’ हामीले पनि हिन्दी सिनेमा शैलीमा डायलग दियौं ‘राजाले रिवन काटेको र नेताले भाषण गरेको समाचार बजाउने दिन गए। एउटा टावर ढले अर्को ठडिन्छ।’
अलि दिनमा बजारमा चहलपहल बढ्यो। नयाँ सिडियो आएछन्। रेडियोमा बोलायौ। ‘जील्लाको सुरक्षाको लागि,नागरिकका सुरक्षाको लागि के के रणनीति लिएर आउनु भएको छ?’ प्रश्न मात्र सोधेनौं। सरकारको सहि योजनालाई रेडियोले सघाउँछौ। आजको युगमा यस्तो बेथिति हटाउन मिलेर काम गरौं भन्यौ। अन्तवार्तामा होइन अनौपचारिक छलफलमा। मिठो बोलेर उहाँ फर्कनु भयो।
केहि दिनपछि डाँडाको रेडियोबाट म तल झर्दैं थिएँ। बाटैमा रहेको सिडियो कार्यालयबाट मलाई सिडियो सापले बोलाउनु भयो। अर्ति दिनुभयो। ‘सरलाजी यहाँको चालचलन रीतिरिवाज तँपाई बुझ्नु हुन्न। जे भइरहेछ छाडिदिनुस। काम सक्नुस र जानुस। वेकारमा किन टेन्सन लिनुहुन्छ।’
मलाई बहस गर्न मन लागेन। मनले सोचेँ न्यायको रीत त एउटै होला यहाँ पनि। फेरि म उनी जस्तो कुनै काम सक्न गएको पनि थिइनँ। आँफुखुसी काम गर्न हिडेको। उनले पनि मेरो भलो चिताएँ भन्ठानेका होलान्। जिल्लाको सुरक्षा प्रमुखले त्यसो भनेपछि म बिचरा त भएँ।
राज्यको न्याय प्रणाली, कार्य प्रणालीको यो बिजोग थियो। अर्कोतिर सर्वदलीय संयन्त्रको बैठक चलेकै हुन्थ्यो। बजेट बितरणमा चुच्चो घाँटि मिलेकै हुन्थ्यो।
नागरिकको न्याय जस्तो ‘झिनो मसिनो’ मुद्दामा किन टाउको दुखाउने। संघीयताको बहसको समाचार राष्ट्रिय अखवारमा आएकै थियो। कहलिएका पत्रकारले राजनीतिक बिश्लेषण गरिरहेकै थिए। सबै कुरा ठीकै थियो। जे थियो राम्रै थियो।
मुख नदेखेका न्यायधीशको त नाम पनि थाहा छैन। यी सिडियो सापको नाम पनि याद गर्न खाँचो लागेन। उनको धमिलो छाँया मात्र सम्झन्छु। त्यो बेला पनि यी ब्यक्तिहरु बारे समाचार लेखेर स्कुप मार्न रहर जागेन। यी त मात्र रोगि न्याय प्रणालिका उपज हुन्। यस्तो प्रबृत्ति नेपालभरि छ।
कानुन मन्त्रीको पूजालाई न्याय लिदाइदिन्छु भन्ने कृपालु टोनले यस्तै रोग बढाउने हो। भन्न सक्नु पर्दथ्यो। म न्याय प्रणालिलाई बलियो बनाउन सकेजति गर्छु। पूजालाई न्याय दिने कुरा न्याय प्रणालिको हरेक दिनको काम भित्र पर्ने एउटा काम मात्र हो। नागरिकलाई न्याय राज्यको बलियो प्राणलिले दिने हो। ब्यक्तिको गोजिबाट निकालेर दिने ललिपप होइन। यति भनिरहँदा पनि उहाँको संबेदनशिलतालाई आदर नै गर्छु। तर, भन्न चाहन्छु लोकप्रिय हुने होडमा होइन, अलोकप्रिय भएरै पनि न्यायप्रणाली बलियो बनाउनतिर लाग्नुस। नत्र कतिले लेख्ने चिठी ?
बाजुराकोे झलकले नेपालमा नागरिकको न्यायमा पँहुचको चित्र दिन्छ। यो चित्र मनमा राखेर ठोस कार्ययोजना सहित प्रणाली सुधारको आवश्यकता छ। भावना राम्रो कुरा हो। तर स्थिति बदल्न काम नै चाहिन्छ।
मलाई केहि भयो भने न्याय पाउँछु भन्ने तहको मानसिक बल हो नागरिकलाई चाहिएको। कानुनभन्दा बलियो न्याय हुनुपर्छ भनिन्छ। न्याय नागरिकको हक हो। यो हकलाई सुरक्षित गर्न निश्पक्ष र बलियो न्याप्रणाली चाहिन्छ। जो आए पनि जो गए पनि नहल्लिने न्यायप्रणाली।
You can subscribe by e-mail to receive news updates and breaking stories.
0 comments for " -गर्भ बसेछ भने लडाई लड्छु, तँ सँग बिहे त गर्दै गर्दिन' "
Leave a reply