-अत्यन्तै दुखद खबर: साउदी अरबमा उमेश यादवलाई मृत्युदण्ड, टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश

Posted by News NP on | 0 comments


उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो। ‘सजाय कार्यान्वयन भइहाल्छ कि भन्ने डर छ,’ राजदूत उदयराज पाण्डे भन्छन्, ‘पीडित परिवार सहमतिमा आउन मानेका छैनन्।’

हत्या अभियोगमा मृत्युण्डको सजाय पाएका नेपालीहरू थुप्रै छन्। केङु–९, पर्वतका शान्तबहादुर पुन हत्या अभियोगमा १४ वर्षदेखि जेलजीवन बिताइरहेका छन्। उनी साउदीको जोर्डनसँग सीमा जोडिएको गुरियता जेलमा छन्। बाख्रा गोठको रखबारी गर्ने उनले चोर्न भनेर आएका साउदी नागरिक उदा आएद होमद अल सरारीको हत्या गरेका थिए।

अदालतले उनलाई त्यतिखेरै मृत्युदण्डको सजाय सुनाएको थियो। तर, सरारीका कान्छा छोरा १८ वर्ष पुगेपछि उनको राय लिएर मात्रै सजाय कार्यान्वयन गर्ने आदेश थियो। कान्छा छोरा १८ वर्ष पुगिसकेका छन्। दूतावासले माफीको प्रयास गर्न तत्कालीन उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेलाई पीडित परिवार तथा अदालतमा पठाएको थियो। पीडित पक्षबीच कुरा नमिलेपछि सजाय कार्यान्वयन हुन सकेको छैन। ‘जेठो छोरा माफी दिने पक्षमा छन्। कान्छा छोरा र काका भने मृत्युदण्ड दिनुपर्ने पक्षमा छन्,’ राजदूत पाण्डेले भने, ‘यो मुद्दा हेर्न स्थानीय नेपालीलाई जिम्मा दिएका छौं। सम्भवत: आममाफीमा जान्छ होला।’ जेलमै काम गरेर परिवार धान्दै आएका पुन भने केही भए पनि निर्णय गर्नुपर्ने अडानमा छन्। ‘कि मलाई मृत्युदण्ड दिनुपर्यो। मर्न तयार छु,’ पुन भन्छन्, ‘होइन भने आममाफी दिनुपर्यो। अब थप लामो समय पर्खन सक्दिनँ।’

कतै माफी, कतै सजायकै पक्षमा

६ वर्ष अगाडिदेखि हत्या अभियोगमा जेलमा रहेका पर्वतकै उत्तम कुँवरलाई मृत्युदण्डको सजायबाट मुक्त गरी स्वदेश पठाइदिने फैसला २३ असारमा भएको छ। साथी विष्णु घिमिरेको हत्या अभियोगमा कँुवरले मुत्युदण्डको सजाय पाएका थिए। तर, उनले हत्याको जिम्मेवारी भने लिएका छैनन्। लामो प्रयासपछि पीडित परिवारले ब्लड मनीबापत ११ लाख रुपैयाँ लिएर माफी दिएपछि अदालतले आममाफी दिएको हो। उनी अब केही दिनमा स्वदेश फिर्नेछन्।

दूतावासका अनुसार मृत्युदण्ड पाएका विवेक दाहाललाई पीडित परिवारले माफी दिइसकेको छ। त्यो प्रक्रिया अदालतसम्म पुग्न बाँकी छ। ऊँट हेरचाहको काम गर्ने दाहालले आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए। अर्का सुडानी भने सख्त घाइते भएका थिए। प्रहरीले दाहाललाई विष सेवन गरेको अवस्थामा मरुभूमिमा फेला पारेको थियो। ‘आत्मग्लानि भएर घटना भएको देखिन्छ,’ पाण्डेले भने, ‘दुईजनाको हत्या गरी आफू आत्महत्या गर्न लागेका रहेछन्। सुडानी र दाहालको उद्धार मालिकबाट भयो।’ गोरखाका ध्रुव गुरुङ पनि पाकिस्तानीको हत्या अभियोगमा जुबेल जेलमा छन्। आफ्नो प्रतिरक्षाका लागि हत्या भएको बयान दिएपछि प्रमाण गुरुङकै पक्षमा दरिलो बनेको छ।

पर्वतका कृष्ण कुस्मेलीका पीडित परिवार भने कुनै हालतमा पाल्पाका दिलबहादुर विकलाई माफी दिने पक्षमा छैनन्। पीडित परिवारलाई मनाउन धेरै प्रयास भए पनि पीडित पक्ष विकलाई मृत्युदण्ड हुनुपर्ने उनीहरूको अडान छन्। एउटै कम्पनीमा काम गर्ने विकले कृष्णलाई सुतिरहेको अवस्थामा हत्या गरिदिएका थिए। ‘परिवार नमानेपछि ६ वर्षअघिको यो सजाय कार्यान्वयन हुन पनि सक्छ,’ पाण्डेले भने।

ज्यान मुद्दा खेप्ने चालकहरू

१९ जुन २०१३ देखि कर्मैया–५ सर्लाहीका विष्णुहरि पाण्डे रियादस्थित मलाज जेलमा छन्। उनले चलाएको गाडीको ठक्करबाट एक साउदी नागरिकको मृत्यु भयो। अदालतले क्षतिपूर्तिबापत ३ लाख रियाल दिनुपर्ने फैसला सुनाएको छ। रकम तिर्न नसक्दा जेलबाट निस्कन सकेका छैनन्।

खोटाङका हर्क राई पनि गाडीले ठक्कर दिँदा बच्चा मरेको मुद्दामा साढे तीन वर्षदेखि अलखुबेरास्थित खोबर जेलमा सजाय काटिरहेका छन्। अजिजिया कोर्टले उनलाई पीडित परिवारलाई ३ लाख रियाल बुझाएपछि मात्रै जेलबाट निस्कन पाउने सजाय सुनाएको छ। यस्तै, धनुषा पस्पलपुरका सञ्जीव यादव गाडी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्युमा दोषी प्रमाणित भएपछि ३ वर्षदेखि नै दमामस्थित अलहासा जेलमा छन्। पीडित परिवारलाई ९६ हजार रियाल बुझाएपछि मात्रै उनी जेलबाट निस्कन सक्छन्।

बंगलादेशका फिकुल इस्लामलाई मारेको अभियोगमा सुरेश मण्डल ६ वर्ष ३ महिनादेखि जुबेल जेलमा छन्। पीडित पक्षले ५ लाख बंगाली रकम मागेको छ। ‘गाडी चालक दोषी भएमा सबै सजाय दिइने गरिएको छ,’ राजदूत पाण्डेले भने, ‘माफी दिन हामीले सरकारलाई अनुुरोध र प्रयास पनि गरिरहेका छौं।’

श्रोत: तराई न्युज 

0 comments for " -अत्यन्तै दुखद खबर: साउदी अरबमा उमेश यादवलाई मृत्युदण्ड, टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश "

Leave a reply

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Recent News

Archives